images
images
  • भरतपुरलाई दोस्रो पर्यटकिय गन्तव्यमा विकास गर्छाैं: मेयर रेणु दाहाल

    चितवन- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताएकी छन् ।

    बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गरिन् ।

    भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १ दर्जनभन्दा बढी ताल, चारैतिर जंगल र उच्च भूभाग चौकी डाँडा पनि महानगरमै रहेकाले देशको दोस्रो पर्यटकीय गन्तव्य बन्नेमा आशावादी रहेको बताइन् ।

    प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटकलाई हिंसात्मक बाघ देखाइने बताइन् । चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा केजमा हिंसात्मक वा नरभक्षी बाघलाई पर्यटकलाई देखाउने गरी काम अगाडि बढेको पनि जानकारी दिइन् ।

    उनले भरतपुरमा क्रुजदेखि साना बोटहरु सञ्चालनमा रहनुका साथै भरतपुर २९ को चौकीडाँडामा प्याराग्लाडिङको सुविधा पनि लिन सकिने जानकारी दिइन् । उनले गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताइन् । भ्रमण वर्षको अवसरमा पहिलो पटक यसरी टुरमा निस्किएको टोलीलाई स्वागत गरिएको पनि बताइन् टोलीले भरतपुरका १ दर्जन बढी ठाँउमा घुम्ने छ ।

    बाईक टुरका संयोजक विष्णु विवेकलाई प्रमुख दाहालले भरतपुर भ्रमण वर्षको लोगो अंकित झण्डा हस्तान्तरण गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले भरतपुरमा निकुञ्जसहित भारतको गया, कासी बराबरको धामिर्क पर्यटकीय स्थल देवघाटधाम रहेको बताए ।

    उनले टोलीमा सहभागी सबैलाई डिजिटल प्रविधिमार्फत भरतपुरको पर्यटनलाई विश्वभर प्रचारप्रसारका लागि आग्रह गरे ।

    ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोली काठमाडाँै, हेटौडाँ, भरतपुर, लुम्बिनी हुँदै पोखरा पुग्ने छ । करिब ५० बाईकमा १०० जनाको टोलीले नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न समयमा यस्ता टुरहरु गर्दै आईरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images