डोल्पा- डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
गत १० भदौदेखि बेपत्ता मेजर पण्डितको शव १७ औँ दिनमा हिजो (मंगलबार) त्रिपुरासुन्दरी नगरपालिका– ५ करवगाडस्थित चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो।
मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। काठमाडौंको डाँछीका पण्डितको अन्त्येष्टि काठमाडौमै हुने जनाइएको छ ।
बेपत्ता भएपछि काठमाडौंबाट मेजर पण्डितका बुवासहितका आफन्तहरू डोल्पा पुगेका थिए । आफन्तहरु खोजीमा सहभागी भए पनि विमललाई जिउँदो भने भेटाउन पाएनन् ।
भदौ १० गतेदेखि सम्पर्कबिहीन भएका मेजर पण्डित सदरमुकामदेखि ३० किलोमिटर खाँडाचक्र स्थित भेरीको किनारका २ ढुंगाको कापमा अड्किएको अवस्थामा भेटिएको थियो ।
बिहान त्रिपुरासुन्दरी–५ का शिवकमल सार्कीले चिन्डेबगरस्थित भेरी किनारमा माछा मार्न जाँदा देखेपछि खदाङस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
प्रहरीले खबर पाएपछि सेनासहितको टोली उक्त स्थानमा गएर हेर्दा मृतकको हातमा भएको घडी र औंठीबाट शव पहिचान भएको थियो । उक्त शवको शरीरमा भने कुनै लुगा नरहेको पनि जनाइएको छ ।
काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।





















