काठमाडौं । सरकारले राजदूत नियुक्त गर्ने प्रयोजनको लागि विगतमा मन्त्री भइसकेका उम्मेदवारको हकमा स्नातक तहको अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन गरेको छ ।
तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा पारित भएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने भनिएको थियो । अब त्यो संशोधन भएको छ । ज्ञवाली परराष्ट्रमन्त्रालयबाट बाहिरिसकेका छन् ।
परराष्ट्रका अधिकारीहरुका अनुसार निर्देशिकाबाट शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई संशोधन गरिएको छ । त्यसमा विगतमा मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक तह नचाहिने र अरूका हकमा यथावत् रहने भनिएको छ ।
राजदूतका लागि कूटनीतिक–राजनीतिक नियुक्तिमा ५०–५० प्रतिशत अनुपातको हिसाबमा सिफारिस गरिने प्रबन्ध थियो । तर, गएको वैशाख २५ गते बसेको मन्त्रिपरिषद बैठकले संशोधनको निर्णय गर्दै मौनता प्रकट गरेको छ ।
गएको महिना सिफारिस गरिएका ११ राजदूतमा ९ जना राजनीतिक कोटाका हुन् । यिनको सिफारिसको म्याद असार ९ मा पूरा भएपछि संसदीय सुनुवाइ नभएपनि नियुक्ति प्रक्रिया सुरु हुनेछ । अहिले प्रतिनिधिसभा विघटन भएको अवस्था छ भने पुनःस्थापनालाई लिएर दायर मुद्दा विचाराधीन छन् ।


विश्व खबर 




















