काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले उपनिर्वाचनमा आफूलाई अत्यधिक मत दिएर निर्वाचित गराएको भन्दै तनहुँका मतदातालाई आभार प्रकट गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठककोशून्य समयमा बोल्दै सांसद वाग्लेले तनहुँका जनताको विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाए।
उनले भने,’ आजै मात्रै शपथ लिएको छु। नवनिर्वाचित सांसद हुँ। हालै निर्वाचनमा मलाई भारी मत र मतान्तरसहित विजयी बनाएर प्रतिनिधिसभामा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको स्नेह,विश्वास र भरोसालाई म डगमगाउन दिने छैन।
यस्तै उनले तनहुँ हुँदै पोखरा जाने पृथ्वी लोकमार्ग विस्तारका क्रममा देखिएको जटिलताबारे उनले आफ्नो भनाइ राखेका हुन्।
’अहिले तनहुँ जिल्ला हुँदै पृथ्वी लोकमार्गको विस्तार हुँदैछ’, उनले भने, ’तर जनस्वास्थ्यका दृष्टिले यो सडकले जटिलता ल्याएको छ। त्यहाँको सडकको धुलोले जनस्वास्थमा असर पारिरहेको छ।’
उनले पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसीकुवासहितका संरचना जोगाउनुपर्ने पनि उनले बताएका छन्।
’पृ्थ्वी लोकमार्ग विस्तारका क्रममा घाँसी कुवासहितका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देखिँदैछ’, उनले सम्बोधनका क्रमम भने।
वाग्ले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए। बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भारी मतान्तरले हराउँदै विजय भएका थिए।






















