images
images
  • स्ट्रेट अफ होर्मुजमा अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोन खसालेको इरानको दाबी

    काठमाडौं– इरानको नौसेनाले स्ट्रेट अफ होर्मुजमाथि उडिरहेको अमेरिकाको एमक्यू–१ प्रिडेटर ड्रोन खसालेको दाबी गरेको छ । इरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार उक्त ड्रोनलाई इरानी सेनाले खसालेको हो ।

    अर्धसरकारी समाचार संस्था इर्नाका अनुसार ड्रोनलाई इरानको सिरिक तटीय क्षेत्रअन्तर्गत कोहस्तक क्षेत्रमा खसालिएको हो ।

    इरानी नौसेनाले आफ्नो क्षेत्रीय अखण्डता, सामुद्रिक सीमा र राष्ट्रिय हितको संरक्षण तथा रक्षाका लागि कुनै पनि क्षण पछि नहट्ने बताएको इर्नाले उल्लेख गरेको छ ।

    इर्नाले सार्वजनिक गरेका ड्रोन खसालिएको भनिएका तस्बिरहरू भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । सार्वजनिक तस्बिरहरूमा सैन्य उपकरणका क्षतिग्रस्त केही भाग देखिन्छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

    यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा उक्त आक्रमण सिरिकमा रहेको दूरसञ्चार टावरमाथि भएको शत्रुको हवाई आक्रमणको जवाफमा गरिएको उल्लेख छ ।

    गार्ड्सका अनुसार आईआरजीसीको एयरोस्पेस फोर्सले केही घण्टाअघि बहराइनमा रहेको अमेरिकी राडार प्रणालीमाथि आक्रमण गरेको हो । विज्ञप्तिमा यसलाई होर्मुज जलघाँटीमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल तस्करी रोक्न दिइएको चेतावनीको रूपमा व्याख्या गरिएको छ । तर बहराइनको राजधानी मनामा र अमेरिकाले उक्त आक्रमणबारे तत्काल कुनै पुष्टि गरेका छैनन् ।

    इरानसँग आठ महिनादेखि जारी युद्धका क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र उपकरणहरू पटकपटक निशानामा पर्दै आएका छन् । यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गर्मीयामदेखि होर्मुज जलघाँटी हुँदै खाडी मुलुकहरूबाट १५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो ।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसपछि खाडी मुलुकहरूले इरानको प्रतिशोधको सामना गर्नुपरेको छ । इरानले होर्मुज जलघाँटी हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै अमेरिका समर्थित मुलुकका विमानस्थल, बन्दरगाह, ऊर्जा केन्द्र, महत्त्वपूर्ण संरचना र अमेरिकी सम्पत्तिमाथि आक्रमण गरेको थियो ।

    युद्ध सुरु भएलगत्तै अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो । त्यसपछि अगस्टमा वासिङ्टनले इरानको व्यापार र वित्तीय कारोबार ठप्प पार्ने उद्देश्यले आर्थिक दबाब बढाउने अभियान घोषणा गरेको थियो ।

    इरानविरुद्धको युद्धप्रति अमेरिकाभित्र बढ्दो असन्तुष्टि र हालैको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले भोगेको पराजयपछि वासिङ्टनले थप आक्रमण गर्ने धम्कीबाट पछि हटेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images