images
images
  • नेतान्याहु हट्ने भए पनि गाजा क्षेत्रमा रोकिएन इजरायली आक्रमण, चिकित्सकसहित ६ को मृत्यु, ४० जना घाइते

    काठमाडौं– इजरायली सेनाले बुधबार राति गाजाको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा गरेको आक्रमणमा एक चिकित्सक र एक बालकसहित कम्तीमा ६ जनाको मृत्यु भएको प्यालेस्टाइनी अधिकारीहरूले बताएका छन् ।

    गाजा सिभिल डिफेन्सका प्रवक्ताका अनुसार मध्यरातपछि केही समयमै नासेर अस्पतालको शल्यक्रिया कक्ष रहेको भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणले अस्पतालको एक भागमा ठुलो क्षति पुर्‍याएको र ध्वस्त भएको शल्यक्रिया कक्षमा जलेका भग्नावशेष छरिएको प्रवक्ता एद्दिन अबु सभाले बताए ।

    उनका अनुसार आक्रमणमा ५२ वर्षीय चिकित्सक डा. रिज्क अबु शाइराको मृत्यु भएको छ । त्यस्तै शल्यक्रिया गराउने तयारीमा रहेका १३ वर्षीय बालकको पनि ज्यान गएको छ ।

    इजरायली आक्रमणमा दुई चिकित्सकसहित कुल ४० जना घाइते भएका छन् । घाइते दुई चिकित्सकको अवस्था गम्भीर रहेको बताइएको छ ।

    अस्पतालभित्रबाट सार्वजनिक भएको भिडियोमा दुई वटा बम देखिएका छन् । तीमध्ये एउटा विस्फोट हुन नसकेको अवस्थामा थियो । बममा रहेको लेबलअनुसार उक्त हतियार अमेरिकामा निर्मित जीबीयू–३९ रबी हो । यो २५० पाउन्ड तौलको बम हो, जुन इजरायललाई उपलब्ध गराइएको छ ।

    अमेरिकाको मध्यस्थतामा एक वर्षभन्दा अघि युद्धविराम सम्झौता भएको भनिए पनि इजरायलले गाजामा लगभग दैनिकजसो आक्रमण गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध विरामपछि इजरायली सेनाको आक्रमणमा गाजामा एक हजार ४०० भन्दा बढी मानिस मारिएका छन् । विनाशकारी युद्धबाट प्रभावित यस क्षेत्रमा अहिले पनि पूर्ण रूपमा सञ्चालनमा रहेको कुनै अस्पताल छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images