images
images
  • परमाणु हतियारको प्रसार रोक्ने सन्धिबाट बाहिरिँदै इरान

    काठमाडौं– इरानका सर्वोच्च नेताको विशेषज्ञ सभा (एसेम्बली अफ एक्सपर्ट्स) ले एक विज्ञप्ति जारी गर्दै परमाणु हतियारको प्रसार रोक्ने सन्धि (एनपीटी) बाट बाहिरिने सम्भावनामाथि विचार गर्न माग गरेको छ । सभाले देशको रक्षा नीतिको समीक्षा गर्न समेत माग गरेको छ।

    बीबीसी फारसीका अनुसार विज्ञप्तिमा एनपीटीबाट बाहिरिने विषयको समीक्षा र आवश्यक सुरक्षा कवच तयार गर्न रक्षा सिद्धान्तमा परिवर्तन गर्नु अब ‘एक आवश्यकता’ र ‘राष्ट्रिय माग’ बनिसकेको उल्लेख छ ।

    विशेषज्ञ सभाले यदि इरानमाथि पुनः आक्रमण भएमा देशका सशस्त्र सेनाले तत्काल र प्रभावकारी ढङ्गले जवाफ दिने चेतावनी पनि दिएको छ । यस संस्थाले विभिन्न सरकारी विभागहरूको सहभागिता र सर्वोच्च नेतृत्वको निगरानीमा युद्ध अर्थ व्यवस्था मुख्यालय (वार इकोनोमी हेडक्वार्टर) निर्माण गर्न समेत आह्वान गरेको छ ।

    सभाले विशेषगरी संस्कृति र हिजाबसँग जोडिएका मुद्दाहरूको उल्लेख गरेको छ ।

    पछिल्ला हप्ताहरूमा इरानका कैयौं अधिकारी र सांसदहरूले पनि परमाणु नीतिको समीक्षा गर्न माग गरेका थिए । केही नेताहरूले त इरान परमाणु हतियार हासिल गर्ने दिशामा अगाडि बढ्नुपर्ने भन्दै खुलेरै अभिव्यक्ति दिएका छन् ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरान अझै पनि परमाणु हतियारको प्रसार रोक्ने सन्धिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images