काठमाडौं– अमेरिका र इरानबीच पुनः युद्ध चर्किने आशंका कम भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आज बिहान घटेको छ । यससँगै तेलको मूल्य लगातार दोस्रो साता गिरावटतर्फ अघि बढेको छ ।
नेपाली समयअनुसार बिहान ५ः२७ बजे ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २८ सेन्ट अर्थात् ०.२९ प्रतिशतले घटेर ९५.५४ अमेरिकी डलर कायम भएको थियो ।
त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ५६ सेन्ट अर्थात् ०.६३ प्रतिशतले घटेर ८८.१८ अमेरिकी डलरमा झरेको थियो ।
यसअघि लगातार दुई दिन बढेको तेलको मूल्यमा आज गिरावट आएको हो । यो साता अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यमा निकै उतारचढाव देखिएको छ ।
अमेरिका र इजरायलबीच इरानविरुद्ध जारी युद्ध अन्त्य हुन सक्ने आशाले यसअघि तेलको मूल्य घट्ने अपेक्षा गरिएको थियो । तर यमनका हुथी विद्रोहीले साउदी अरबका पूर्वाधारमा आक्रमण गर्नुका साथै तेल ओसारपसार गर्ने ट्यांकरहरूलाई समेत निशाना बनाएपछि बजारमा पुनः तनाव बढेको थियो ।
पछिल्लो समय अरब क्षेत्रमा फेरि युद्ध चर्किने डर कम हुँदै गएपछि तेलको मूल्यमा दबाब परेको हो ।





















