काठमाडौं- पदबाट राजीनामा दिएका एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि विवाहेतर सम्बन्ध रहेको खुलासा भएको छ । यस विषयमा जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै रोयटर्सले बिहीबार यो खुलासा गरेको हो ।
यसअघि बाहिर आएका दुईवटा विवाहेतर सम्बन्धका कारण हुआङले बिहीबार पदबाट राजीनामा दिएका थिए । तीमध्ये एक जना एलिस हुआङ हुन्, जसलाई अमेरिकी गुप्तचर निकायले चिनियाँ जासुस भएको आशंका गरेको छ । अर्की महिला भने एनभिडियाकी स्वास्थ्य सेवा उपाध्यक्ष किम्बर्ली पावेल हुन् ।
एनभिडियाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार पावेल, जेन्सेन हुआङ र एनभिडियाको सञ्चालक समितिका प्रतिनिधिले पनि टिप्पणीका लागि गरिएका अनुरोधको जवाफ दिएका छैनन् । एलिस हुआङसँग भने सम्पर्क हुन नसकेको रोयटर्सको दाबी छ ।
यसअघि एलिस हुआङसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि जेन्सेन हुआङले नोभेम्बर ८ मा जारी गरेको वक्तव्यमा आफूले विवाहेतर सम्बन्ध राखेको स्वीकार गरेका थिए । यद्यपि उनले उक्त वक्तव्यमा एलिसको नाम उल्लेख गरेका थिएनन् ।
६३ वर्षीय विवाहित हुआङमाथि एलिस हुआङसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि पद छाड्न दबाब बढेको थियो । बिहीबार उनले राजीनामा दिएपछि एनभिडियाको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिका लागि खोजी प्रक्रिया अघि बढाउँदै कम्पनीकी वित्त प्रमुख कोलेट क्रेसलाई निमित्त सीईओ नियुक्त गरेको छ ।




















