images
images
  • मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

    काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन् ।

    राहुललाई ‘प्रधानमन्त्री मोदीले तपाईंलाई विदेशी सहयोग प्राप्त भइरहेको बताउने गरेका छन्, जबकि तपाईंले मोदी विदेशी शक्तिको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ, त्यसको प्रमाण के छ’ भन्ने प्रश्न गरिएको थियो ।

    जवाफमा राहुलले आफ्नो मोबाइल फोन देखाउँदै भने, ‘प्रमाण यही छ, यो फोनमा छ । प्रधानमन्त्रीलाई पनि यसबारे थाहा छ, किनकि उहाँले मेरो फोन ट्याप गर्नुहुन्छ ।’

    उनले प्रधानमन्त्री मोदीसँग आमनेसामने बहस भएमा विदेशी शक्तिको नियन्त्रणमा को छ र देशविरोधी को हो भन्ने कुरा स्पष्ट हुने दाबी गरे ।

    मोदी कहिलेदेखि देशविरोधी गतिविधिमा संलग्न छन् भन्नेलगायतका विभिन्न जानकारी आफूसँग रहेको र ती सबै आफ्नो फोनमा सुरक्षित रहेको राहुलको भनाइ छ ।

    राहुलको फोन ट्यापिङसम्बन्धी आरोपबारे प्रधानमन्त्री मोदी वा प्रधानमन्त्री कार्यालयका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    तर राहुलको आरोपप्रति भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले भने प्रतिक्रिया दिएका छन् ।

    भाजपा केरल प्रदेश अध्यक्ष राजीव चन्द्रशेखरले राहुलको दाबीप्रति व्यंग्य गर्दै आफ्नो मानसिक स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । उनले राहुलको फोन ट्याप गर्न कसैलाई रुचि नभएको टिप्पणी गरे ।

    ‘म राहुल गान्धीलाई पूर्ण सम्मानका साथ यति मात्र भन्न चाहन्छु कि उहाँले आफ्नो दिमागको जाँच गराउनुपर्छ । उहाँको फोन ट्याप गर्न कसैलाई पनि चासो छैन’, उनले भने, ‘कसैलाई केही जान्न मन छ भने राहुलको दिमागले हरेक दिन झूट मात्रै किन बोल्छ भन्ने जान्न मन छ ।’

    त्यस्तै, उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले पनि राहुलको आरोपको जवाफ दिएका छन् । उनले राहुलको फोन कसैले ट्याप गर्नुपर्ने आवश्यकता नरहेको टिप्पणी गर्दै विदेशी व्यक्तिले नै उनको फोन ह्याक गरेको हुन सक्ने व्यंग्य गरे ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images