images
images
  • भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

    काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।

    बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ । मन्त्री साहका अनुसार मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

    प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै बैठक पुनः सञ्चालन हुने बाटो खुलेको छ ।

    मकवानपुरको भीमफेदीमा बिहीबार भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा सर्लाहीको चक्रघट्ट गाउँपालिका- ४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो ।

    छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका- ६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा चक्रघट्ट गाउँपालिका- ४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उनीहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images