भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरण व्यवस्था गर्न प्रकोप व्यवस्थापन कोषमा जनस्तरबाट रु ४ करोड ६० लाख ४५ हजार बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।
युनिटमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक तथा भौतिक सहयोग गर्न नगरपालिकाले आह्वान गरेपछि विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट उक्त रकम जम्मा भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
नगरपालिकाको कोषमा यही जेठ ५ गतेदेखि रकम जम्मा हुँदै आएको छ।
अहिलेको विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरीदमा आर्थिक, भौतिक तथा नैतिक सहयोग विभिन्न संघसंस्था, विद्यालय, कलेज, उद्योगी, व्यवसायी तथा जनताले गरेका छन्।
कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युनिटमा आइसोलेसन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस्