images
images
  • दुई महिनामै ३ खर्ब २५ अर्ब व्यापार घाटा, चीनसँग निर्यातभन्दा २६० गुणा बढी आयात

    काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतभन्दा बढीले बढे पनि व्यापार घाटाको संरचनात्मक समस्या भने झनै स्पष्ट देखिएको छ । भदौ मसान्तसम्म नेपालले ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँको वस्तु आयात गर्दा निर्यात ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

    यस अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१ दशमलव ५८ प्रतिशत र निर्यात ६१ दशमलव ८६ प्रतिशतले बढेको हो ।

    कुल वैदेशिक व्यापारसमेत ३५ दशमलव ६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदर आयातभन्दा उच्च भए पनि आयातको आधार ठूलो भएकाले व्यापार घाटा घट्न सकेको छैन ।

    भारतसँग मात्रै १ खर्ब ५५ अर्बभन्दा बढी घाटा

    नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग दुई महिनामा २ खर्ब २१ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । भारततर्फ भने ६५ अर्ब ४४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।

    यस आधारमा भारतसँग नेपालको व्यापार घाटा करिब १ खर्ब ५५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । भारतबाट नेपाल भित्रिने वस्तुको मूल्य नेपालबाट भारत जाने वस्तुको तुलनामा साढे तीन गुणाभन्दा बढी छ ।

    भारतबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, मेसिनरी, सवारीसाधन तथा दैनिक उपभोग्य वस्तुको आयात ठूलो छ । नेपालबाट भारततर्फ वनस्पति तेलजन्य वस्तु, धागो, चिया–कफी, मसला तथा जुटजन्य वस्तु निर्यात हुने गरेका छन् ।

    चीनबाट ७६ अर्बको आयात, निर्यात २९ करोड मात्रै

    चीनसँग नेपालको व्यापार असन्तुलन अझ ठूलो देखिएको छ । भदौ मसान्तसम्म चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरका वस्तु आयात हुँदा चीनतर्फ नेपालको निर्यात जम्मा २९ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।

    यसअनुसार चीनसँग नेपालको व्यापार घाटा करिब ७६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अर्थात् चीनबाट नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा करिब २ सय ६० रुपैयाँभन्दा बढीको वस्तु आयात गरिरहेको अवस्था छ।

    चीनबाट तयारी पोसाक, विद्युतीय तथा विद्युतीय उपकरण, औद्योगिक मेसिनरी, फलाम तथा स्टिल, प्लास्टिकजन्य वस्तु, कपडा, फलफूल र खाद्य सामग्रीलगायतको आयात हुँदै आएको छ।

    रसुवागढी र तातोपानी नाकामा देखिएको अवरोधले समेत चीनसँगको व्यापार प्रभावित भएको छ। पछिल्लो समय व्यापारको केही हिस्सा मुस्ताङको कोरला नाकातर्फ सरेको छ। भदौ मसान्तसम्म कोरला नाकाबाट मात्रै करिब ८ अर्ब ३३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ।

    अर्जेन्टिनाबाट २८ अर्बको आयात

    नेपालका लागि अर्जेन्टिना पनि ठूलो आयात स्रोतका रूपमा देखिएको छ। दुई महिनामा अर्जेन्टिनाबाट करिब २८ अर्ब २० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।

    अर्जेन्टिनाबाट विशेषगरी वनस्पति तेल तथा खाद्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थको आयात उल्लेख्य रहेको छ। आयातको तुलनामा निर्यात कमजोर हुँदा अर्जेन्टिनासँगको व्यापार पनि नेपालको पक्षमा छैन।

    अमेरिकासँग घाटा तुलनात्मक रूपमा कम

    अमेरिकासँग भने नेपालको व्यापार तस्वीर भारत र चीनको तुलनामा फरक छ। भदौसम्म अमेरिकाबाट ६ अर्ब ५७ करोड रुपैयाँ बराबरका वस्तु आयात हुँदा नेपालबाट अमेरिकातर्फ ४ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

    यसले अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब ४२ करोड रुपैयाँ हाराहारीमा सीमित रहेको देखाउँछ। नेपाली गलैंचा तथा तयारी पोसाकजन्य वस्तु अमेरिकी बजारमा जाने प्रमुख वस्तुमध्ये छन् ।

    निर्यात बढ्यो, तर आयातको भार कायमै

    गत आर्थिक वर्षको पहिलो दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

    तर ४ खर्ब १ अर्बभन्दा बढीको आयातका कारण निर्यात वृद्धिले व्यापार घाटामा ठूलो सुधार ल्याउन सकेको छैन। दुई महिनामा प्रत्येक एक रुपैयाँ बराबरको निर्यातका लागि नेपालले करिब ५ रुपैयाँ २४ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ ।

    कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३ दशमलव ९८ प्रतिशत र निर्यातको हिस्सा १६ दशमलव ०२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा आयातको हिस्सा ८६ दशमलव ५८ प्रतिशत थियो ।

    निर्यातको हिस्सा बढ्दै गए पनि नेपालको वैदेशिक व्यापार अझै आयातमा अत्यधिक निर्भर रहेको तथ्यांकले देखाएको छ । विशेषगरी ठूलो आयात स्रोत रहेका मुलुकमा नेपाली वस्तुको बजार विस्तार गर्न नसक्नु र चीनलगायत केही बजारमा निर्यात अत्यन्त न्यून रहनु नेपालको वैदेशिक व्यापारको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images