काठमाडौं – बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसमविद्का अनुसार आगामी दुई दिन विशेषगरी पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि थप बढ्ने सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ । पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको उनले जानकारी दिए ।
पश्चिमतर्फ सर्दै न्यून चापीय प्रणाली
मौसमविद् लामिछानेका अनुसार हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित छ । उक्त प्रणाली क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमी भूभागमा बढ्दै जाने पूर्वानुमान गरिएको छ।
उनका अनुसार आज र भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ । पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ ।
शनिबार पश्चिममा वर्षा बढ्ने
असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने भएकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान छ।
असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने विभागले जनाएको छ।
असोज १२ गतेदेखि भने देशभर मौसम क्रमशः सुधार हुँदै जाने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको छ ।
बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह
पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिम बढेको मौसमविद् लामिछानेले बताएका छन् ।
मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले अवस्थाको निगरानी गरिरहेको र आवश्यकताअनुसार मौसम पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने उनले बताए ।
भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।


विश्व खबर 


















