काठमाडौं– ढोरपाटन सिकार आरक्षमा चालु वर्षको पहिलो सिकार याम सुरु भएको छ। असोजदेखि मङ्सिरसम्म सञ्चालन हुने पहिलो याममा १० नाउर र सात झारलको सिकार गरिने भएको छ ।
विदेशी सिकारीलाई सिकार खेलाउन वन्यजन्तु विभागबाट अनुमति पाएका कम्पनीले तयारी तथा समन्वय गरिरहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
विश्वका धनाढ्य तथा सिकारका पारखी विदेशी नागरिक ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।
विगत केही दशकदेखि रुस, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक तथा फ्रान्सलगायत देशबाट सिकारी नेपाल आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
सात सिकार ब्लकमा विदेशी सिकारी
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाका आधारमा सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउपत्र आह्वान गरेको थियो ।
ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक कायम गरिएको छ । विदेशी सिकारी हेलिकप्टरमार्फत सिधैँ सिकार क्षेत्रमा पुग्ने गरेका छन् ।
सिकारका क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीसँग खटिनेछन् । विभागले हरेक वर्ष नाउर र झारलको संख्या तथा संरक्षण अवस्थालाई आधार बनाएर सिकारको कोटा निर्धारण गर्दै आएको छ ।
गत वर्ष ४ करोडभन्दा बढी राजस्व
गत वर्ष ढोरपाटनमा दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट सरकारलाई ४ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रमुख संरक्षण अधिकृत बरालका अनुसार गत वर्ष एउटा नाउरको सिकारका लागि २० लाख रुपैयाँ मूल्य कायम गरिएको थियो । चालु वर्षको पहिलो यामका लागि तोकिएको राजस्व बुझाउने प्रक्रिया भइरहेको छ।
आरक्षभित्र रहेका नाउर र झारलको यस वर्ष गणनासमेत गरिने बरालले जानकारी दिनुभयो ।
१५ दिनभित्र तोकिएको ब्लकमा सिकार
विदेशी सिकारी समूहले तोकिएको सिकार ब्लकमा १५ दिनभित्र सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ। विभागले दोस्रो सिकार यामका लागि फागुनदेखि वैशाखसम्म सिकारको अनुमति दिनेछ ।
ढोरपाटन सिकार आरक्ष विसं २०४४ मा स्थापना भएको हो। यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ भने आरक्ष कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ ।
आरक्ष कार्यालयका अनुसार गत वर्ष ढोरपाटन क्षेत्रमा सिकार खेल्नेसहित अवलोकनका लागि करिब ३७ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेका थिए ।


विश्व खबर 


















