काठमाडौं – यमनका हुथी विद्रोहीले साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ ।
साउदी अरबका संवेदनशील क्षेत्र तथा राज्यनियन्त्रित ऊर्जा कम्पनी अरामकोका संरचनालाई लक्षित गरी आक्रमण भएको खबरसँगै विश्व बजारमा इन्धन आपूर्तिमा थप अवरोध हुन सक्ने चिन्ता बढेको हो ।
विश्वव्यापी मूल्यको प्रमुख मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार ३ प्रतिशतभन्दा बढीले बढेको थियो ।
नोभेम्बरका लागि तय ब्रेन्ट फ्युचर्स प्रतिब्यारल १०८ डलरसम्म पुगेपछि दिनको अन्त्यमा १०६.५० डलरभन्दा माथि बन्द भएको थियो । शुक्रबार एसियाली बजारमा भने केही घटेर प्रतिब्यारल १०५.७७ डलरमा आएको थियो ।
रियाद र यान्बुमा आक्रमण गरेको हुथीको दाबी
हुथी समूहले साउदी राजधानी रियादस्थित संवेदनशील क्षेत्र तथा लाल सागर किनारको यान्बुमा रहेका अरामकोका संरचनालाई क्षेप्यास्त्र र ड्रोनबाट निशाना बनाएको दाबी गरेको छ ।
हुथी सञ्चालित सञ्चारमाध्यमले दुवै आक्रमण आफ्नो उद्देश्यअनुसार सफल भएको दाबी गरेका छन् ।
यता साउदी नेतृत्वको गठबन्धन सेनाले हुथीले प्रहार गरेका ६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ । यान्बु क्षेत्रमा रहेको तेल प्रशोधन तथा निर्यात पूर्वाधारका कारण उक्त क्षेत्र साउदीको ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ ।
आक्रमणबाट कति क्षति भयो वा मानवीय क्षति भए–नभएकोबारे साउदी अधिकारीले तत्काल पुष्टि गरेका छैनन् । अरामकोले पनि घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन ।
ऊर्जा आपूर्तिमा थप अवरोधको चिन्ता
साउदी अरबको ऊर्जा पूर्वाधारमा पछिल्ला आक्रमण र क्षेत्रीय द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा दबाब बढेको छ । यसअघि पनि साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको आक्रमणले यान्बु बन्दरगाहमार्फत हुने कच्चा तेल ढुवानी प्रभावित भएको थियो ।
क्षेत्रीय तनावसँगै होर्मुज र बाब अल–मन्देबजस्ता महत्वपूर्ण समुद्री मार्गमा जोखिम बढेकाले लगानीकर्ताले आपूर्ति अवरोधको सम्भावनालाई तेलको मूल्यमा समावेश गरिरहेका छन् ।
कूटनीतिक प्रयासकै बीच नयाँ तनाव
हुथीको पछिल्लो आक्रमण अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास भइरहेका बेला भएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयास भइरहे पनि मध्यपूर्वमा सैन्य गतिविधि भने जारी छ ।
विश्लेषकहरूले महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग र पूर्वाधार अझै जोखिममा रहेकाले तेलको मूल्य तत्कालै ठूलो मात्रामा घट्ने अवस्था नरहेको बताएका छन् ।
केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररले कूटनीतिक प्रयासले केही दबाब कम गर्न सक्ने भए पनि दीर्घकालीन तनाव घट्ने स्पष्ट संकेत नआएसम्म तेल बजारमा मूल्य बढ्ने दबाब कायम रहने बताएका छन् ।
स्पार्टा कमोडिटिजका वरिष्ठ तेल बजार विश्लेषक जुन गोहले पनि इरानसँगको युद्ध जारी रहेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारल १०० डलरभन्दा माथि रहन सक्ने बताएका छन् ।


विश्व खबर 


















