images
images
  • प्रधानमन्त्री कार्यालयलाई स्वास्थ्यको चिठ्ठी : कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न अनुरोध

    काठमाडौं । कोरोनाबारे असम्बन्धित निकाय तथा व्यक्तिले जथाभावी बोल्ने कार्य रोक्न लगाउनका लागि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चिठ्ठी पठाएको छ ।

    कोरोनाबारे असम्बन्धित निकाय तथा व्यक्तिले जवाभावी बोल्दा भ्रम सिर्जना गरेको भन्दै विभागीय मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई चिठ्ठी पठाएको हो ।

    जेठ १७ मा बसेको स्वास्थ्य मन्त्रालयको बैठकले असम्बन्धित व्यक्ति तथा निकायलाई कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘जनस्वास्थ्यका विषयमा सम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएको र त्यसले धेरैलाई द्विविधा बनाउने र भ्रमित बनाउने गरेको छ ।’

    स्वास्थ्य मन्त्रालयले कोरोनाबारे विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेकलाई टिकाटिप्पणी नगरिदिन पनि सबैलाई आग्रह गरेको छ ।

    कोरोनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि जथाभावी अभिव्यक्ति दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले बेलौतिका पात, बेसार सेवन तथा खोकखाक गरेपछि कोरोना निको हुन्छ भनेर अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images