images
images
  • १ दिनारको मूल्य ४०० रुपैयाँभन्दा बढी, डलर र पाउन्डभन्दा महँगो हुनुको कारण के ?

    काठमाडौं- नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ।

    नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ।

    पछिल्लो विनिमय दर अनुसार अहिले १ अमेरिकी डलरको खरिद मूल्य १२७.५१ रुपैयाँ पुगेको छ।

    डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ।

    त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ।

    तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ?

    नेपाल राष्ट्र बैङ्कले सोमवारका लागि तय गरेको विनिमय दर अनुसार १ ब्रिटिश पाउन्डको मूल्य १५१.१५ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३०.६१ रुपैयाँ छ।

    तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१४.४० रुपैयाँ कायम छ।

    त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३३८.२५ छ।

    दिनार महँगो हुनुको कारण के हो?
    प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ।

    अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन्।

    त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ।

    तर केन्द्रीय ब्याङ्कका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाओर प्यारीटी भनिन्छ।

    यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ।

    ”कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको … त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाओर (खरिद गर्ने शक्ति) बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा १ दिनारको ४ डलर पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत ४ डलर पर्छ,” नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले भने।

    अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ।

    ‘दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,’मानन्धरले भने।

    नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ। सोमवारको सटही दर हेर्दा १ कुवेती दिनार बराबर ३.२५ अमेरिकी डलर कायम रहेको देखिन्छ। १ ब्रिटिश पाउन्डको मूल्य २.७3 कायम छ।

    कुनै पनि मुद्राको बलियो हुनमा उक्त मुलुकको ब्याज दर र बजार महँगीको प्रभावमा आधारित रहने बताइन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images