काठमाडौं- सिरहामा एक बालिकालाई बलात्कार गरी आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गर्न स्थानीयहरुले माग गरेका छन् । जिल्लाको मिर्चैया नगरपालिका–१ मलहनीयाँका बर्दि सदाको १४ वर्षीया छोरी पवित्री सदालाई गाउँकै दुई युवकले सामुहिक बलात्कार गरि आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।
गत सोमबार राती करिब १ बजे घरपछाडी ‘टर्च लाईट’ बलेको देखेपछि स्थानीय युवाहरु भेला भएर ‘टर्च’ बालेको क्षेत्रमा पुग्दा बाली हेरचाह गर्न बनाएको घरमा करिब २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफी र बालिका फेला परेको गाउँलेहरुको भनाइ छ ।
अघिल्लो दिन गाउँकै रामभगत सदायको मोबाइल चोरी भएकाले चोरहरु फेरी आएको होला भन्दै गाउँले युवाहरु भेला भएर त्यहाँ पुग्दा विमलेश र पवित्री घरको टाँडमा र शतिसले भुइँमा केराको पात ओछ्याएर सुतिरहेको अवस्थामा फेला पारेको स्थानीय भगवान बाबुले बताए ।
त्यतिबेला विमलेश स्थानीयलाई देखेपछि भाग्न सफल भए । तर, शतिसलाई भने नियन्त्रणमा लिएपनि उनका बुबा विन्दे साफीले बिहान पञ्चायतमा ल्याउने सर्तमा उनलाई लिएर गएको पवित्रीका दाजु जगनारायण सदाले जानकारी दिए ।
सोहीदिन राती विन्दे साफीले पवित्रीलाई समेत हप्किदप्की दिएर घर पठाएको गाउँलेहरु बताउँछन् । मंगलबार बिहान छलफलमा बस्न गाउँलेहरु भेला हुँदै गर्दा आँगनमा देखीएका पवित्री केही बेरमै घरमै पासो लागेको अवस्थामा फेला परेकी हुन् ।
गाउँले थाहा पाउनासाथ प्रहरीलाई खबर गरेपनि दोषीहरुलाई प्रहरीले नेताहरुको दबाबमा पक्राउ नगरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयहरुले ‘प्रहरी प्रशासन मुर्दावाद’को नारा लगाउँदै पूर्वपश्चिम राजमार्ग अवरुद्धसम्म गरे । केहीसमय त्यस ठाँउको अवस्था तनावग्रस्त बन्यो ।
मृतक पवित्रीको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएको बताएको छ । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
मृतक पवित्रीको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।


विश्व खबर 




















