राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा अवस्था, नागरिकको दैनिक जनजीवन तथा अत्यावश्यक सेवासमेतलाई मध्यनजर गर्दै राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश केही खुकुलो बनाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु खुकुलो बनाइएको हो ।
उक्त अवधिमा नागरिकले दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री गर्न तथा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर अत्यावश्यक प्रयोजनका लागि आवतजावत गर्न सक्ने जनाइएको छ ।
प्रशासनले कर्फ्यु खुकुलो गरिएको समयमा कुनै पनि प्रकारको अशान्ति फैलाउने, उच्छृङ्खल गतिविधि गर्ने वा पाँच जनाभन्दा बढी व्यक्तिको भेला हुने गतिविधि गरे प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, शान्ति र सद्भाव कायम राख्ने उद्देश्यले पूर्वअनुमति प्राप्त कार्यक्रमबाहेकका सबै गतिविधि निषेध गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार बिहान ११ बजेदेखि भने सम्बन्धित क्षेत्रमा अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश यथावत् लागू रहनेछ । प्रशासनले सबै नागरिकलाई संयम अपनाउन र सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
सप्तरीको बोदेबर्साइनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्युको आदेश जारी गरिएको थियो ।


विश्व खबर 


















