काठमाडौं- ६ वर्ष बितिसक्दा पनि बालाजुस्थित जनमैत्री अस्पतालका चिकित्सकहरुले पारिश्रमिक भुक्तानी नपाएको खुलेको छ । ६ वर्षअघि तत्कालीन अस्पताल व्यवस्थापनले पारिश्रमिक नदिएपछि चिकित्सकहरु श्रम कार्यलयलाई गुहार्न पुगेका थिए ।
श्रम कार्यलयमा परेको निवेदनमा उल्लेख भएअनुसार २० जना चिकित्सकको मात्रै ९८ लाख १८ हजार १ सय ८५ रुपैयाँ अस्पतालले भुक्तानी दिन बाँकी छ । यस्तै, अस्पतालबाट पारिश्रमिक नपाएका एक चिकित्सककाअनुसार थप १० जना मेडिकल अधिकृतको पनि पारिश्रमिक अस्पतालले दिएको छैन । ‘१० जना मेडिकल अधिकृतको एकजनाको ३ लाख रुपैयाँ हिसाबले झण्डै ३० लाख रुपैयाँ पारिश्रमिक पाउन बाँकी छ,’ ती चिकित्सकले भने ।
पारिश्रमिक नपाएपछि चिकित्सकहरुले २०७३ साउन १६ मा श्रम कार्यलय टेकुमा निवेदन दिएका थिए । निवेदनसँगै पारिश्रमिक नपाएका चिकित्सकहरुले भुक्तानीका लागि पहल गरिदिन माग गर्दै बारम्बार श्रम कार्यलयसमेत धाएका थिए । ‘ठूला नेताहरुले चलाएको अस्पताल हो भन्दैं श्रमका तत्कालीन कर्मचारीहरुले निरिहता देखाउनुभयो,’ निवेदकमध्ये एक चिकित्सकले भने, ‘अस्पतालसँग मिल्नुहोस्, जसरी हुन्छ अस्पताललाई फकाउनुहोस् भन्ने जवाफ पायौं ।’
२० जना चिकित्सकहरुले श्रम कार्यलयमा दिएको निवेदनमा अस्पतालका प्रमुख कृष्ण शर्माबाट श्रम ऐन, २०४८ अनुसार पारिश्रमिक दिलाइ पाउँ भनेर उल्लेख गरिएको छ । चिकित्सकहरुले दिएको उक्त निवेदनमा एकजना चिकित्सकले कम्तिमा ४० हजारदेखि २८ लाखसम्म पारिश्रमिक भुक्तानी बाँकी रहेको देखिन्छ ।
जनमैत्री अस्पतालमा तत्कालीन माओवादी पार्टी निकट व्यक्तिहरुको लगानी रहेको थियो । यस विषयमा तत्कालीन अस्पतालका प्रमुख कृष्ण शर्मासँग बुझ्दा चिकित्सकहरुको पारिश्रमिक दिन बाँकी रहेको र अहिले अस्पतालको व्यवस्थापन नै परिवर्तन भइसकेको हुँदा नयाँ व्यवस्थापनले सो दायित्व लिनुपर्ने बताए । ‘अस्पतालमा काम गरेका चिकित्सकहरुको पारिश्रमिक दिन बाँकी छ,’ उनले भने, ‘अहिले जसले अस्पतालको स्वामित्व टेकओभर गरेको छ । उसले नै त्यो तिर्नुपर्ने हुन्छ । यो स्वभाविक हो । नयाँ व्यवस्थापनसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ ।’



विश्व खबर 



















