काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न इच्छुक नेपालीका लागि रोजगारीको अवसर खुलेको छ ।
वैदेशिक रोजगार विभागले स्याहार केन्द्रका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार छनोट गर्न आवेदन आह्वान गरेको हो ।
विभागका अनुसार माग भएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन् । गम्भीर अपांगता भएका व्यक्तिको दैनिक स्याहार तथा सहयोगका लागि यी कामदार इजरायल पठाइनेछन् ।
आवेदन दिन इच्छुक नेपालीको उमेर २५ वर्ष पूरा भइसकेको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ । विभागले भदौ २३ गते राति १२ बजेदेखि आवेदन खुला गरेको छ । इच्छुक उम्मेदवारले असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली ferms.dofe.gov.np मार्फत बुझाउनुपर्नेछ ।
छनोटमा परेका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा (ILS) तलब पाउनेछन् । इजरायलको श्रम कानुनअनुसार तोकिएको समयभन्दा बढी काम गरेमा ओभरटाइम सुविधा पनि प्राप्त हुने विभागको सूचनामा उल्लेख छ ।
कामदारले प्रत्येक साता ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ । सातामा एक दिन बिदा उपलब्ध हुनेछ भने वार्षिक बिदा इजरायलको प्रचलित कानुनअनुसार हुनेछ ।
कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बसोबासको व्यवस्था भने गरिनेछ । तर, बसोबासका लागि लाग्ने खर्च सम्बन्धित कामदार आफैंले व्यहोर्नुपर्नेछ ।
इजरायलमा रोजगारीका लागि आवेदन दिने इच्छुकले विभागले तोकेको योग्यता, प्रक्रिया र आवश्यक कागजात पूरा गरी तोकिएको समयभित्रै आवेदन दिनुपर्नेछ ।























