काठमाडौं- मलेसियाले सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि नेपालले असहमति जनाउँदै संयुक्त प्राविधिक समिति (जेडब्लूसी) बैठक बोलाउन कूटनीतिक पहल थालेको छ ।
मलेसियाले २५ म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी’ र थप २५० कम्पनीलाई तिनकै मातहतमा ‘सपोर्ट एजेन्सी’ का रूपमा सूचीकृत गरेको छ ।
नेपालले यस्तो संरचना कानुनी व्यवस्था र दुई देशबीचको श्रम सम्झौताअनुकूल नभएको भन्दै सबै इजाजतप्राप्त म्यानपावरलाई समान अवसर दिनुपर्ने बताउँदै आएको छ ।
यसैबीच वैदेशिक रोजगार विभागले ती २५ मुख्य संस्थासँग आबद्ध २५० म्यानपावर कम्पनीको मलेसिया सम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरी सूचीकरणको आधार र प्रक्रियाबारे छानबिन थालेको छ ।
तर, यसअघि नै श्रम स्वीकृति पाइसकेका श्रमिकको यात्रा भने नरोकिने सरकारले जनाएको छ ।
मन्त्रालयका अनुसार विवाद समाधानका लागि मलेसियासँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।
आगामी जेडब्लूसी बैठकमा म्यानपावर छनोट, एफडब्लूसीएमएसको संरचना र श्रमिक भर्ना प्रक्रियाबारे छलफल गर्ने तयारी छ ।


विश्व खबर 



















