images
images
  • श्रमिकको मुद्दा उठाएर श्रमिक पठाउनै बन्द, वैदेशिक रोजगार व्यवसायीहरू किन आन्दोलित ?

    काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेका छन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि १५ बुँदे माग अघि सारेको हो ।

    संघले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्नुपर्ने, श्रमिकको वास्तविक लागत पारदर्शी रूपमा निर्धारण गर्नुपर्ने तथा व्यवसायीले पाउने सेवा शुल्क वैज्ञानिक आधारमा तोक्नुपर्ने माग गरेको छ ।

    संघका अध्यक्ष डिकबहादुर खत्रीले श्रमिकबाट लिइँदै आएको १० हजार रुपैयाँ सेवा शुल्क पर्याप्त नभएको बताए । उनले अन्तर्राष्ट्रिय अभ्यास, प्रतिस्पर्धी मुलुकको व्यवस्था तथा नेपालभित्रकै रोजगारीको अवस्थालाई आधार बनाएर श्रमिकले पाउने एक महिनाको तलब बराबर सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए ।

    संघले वैदेशिक रोजगारीमा जाने श्रमिकले बुझाउँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि करमा राज्यले छुट दिनुपर्ने माग पनि गरेको छ । त्यस्तै नेपालको जनसङ्ख्यालाई आधार बनाएर तत्काल नयाँ वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र दिन रोक्नुपर्ने र प्रत्येक पाँच वर्षमा उपयुक्त मापदण्ड निर्धारण गरेर मात्रै नयाँ इजाजतपत्र दिने व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

    संघले विशेष परिस्थितिमा कारबाहीमा परेका वैदेशिक रोजगार व्यवसायीको कारबाही फिर्ता गर्नुपर्ने, श्रम गन्तव्य मुलुक विविधीकरण गर्दै नयाँ श्रम सम्झौता गर्नुपर्ने र नेपाली श्रमिकका लागि नयाँ रोजगारीका अवसर विस्तार गर्नुपर्ने माग गरेको छ ।

    विशेषगरी जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको ई–सेभेन भिसा तथा युरोपका श्रम बजारमा नेपाली श्रमिकको पहुँच विस्तार गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने संघको माग छ ।

    त्यस्तै श्रम स्वीकृति तथा मागपत्र प्रमाणीकरणको प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्। साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसियालगायत प्रमुख श्रम गन्तव्यमा देखिएका जटिल प्रक्रिया हटाउन कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    संघले पाँच हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा श्रम सहचारी तथा काउन्सेलरको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ । व्यवसायीहरूले सरकारसमक्ष राखेको नगद धरौटीमा ब्याज उपलब्ध गराउनुपर्ने र श्रमिकलाई वैदेशिक रोजगारीमा जान सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

    संघले वैदेशिक रोजगार क्षेत्रले नेपालको अर्थतन्त्र, सामाजिक रूपान्तरण र लाखौँ नेपाली परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ । तर, नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था र बढ्दो प्रशासनिक प्रक्रियाका कारण व्यवसायी, श्रमिक र राज्य सबै प्रभावित भइरहेको संघको भनाइ छ ।

    आफ्ना माग सम्बोधनका लागि दबाब दिन वर्तमान अवस्थालाई ‘शून्य समय’का रूपमा लिएर श्रमिक पठाउने कार्य रोक्ने निर्णय गरिएको संघले जनाएको छ । सुधारका लागि सरकारले तत्काल प्रक्रिया अघि बढाए कानुनको पूर्ण पालना गर्दै नियमित रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा फर्किने प्रतिबद्धता पनि संघले जनाएको छ । 766914641 37676607968621536 2191383698858092275 n766953030 37676608868621446 413973975205157223 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images