images
images
  • के हो हैजा ? यस्ता छन् लक्षण र बच्ने उपाय

    काठमाडौं– उपत्यकामा हैजा संक्रमित हुनेको संख्या १२ पुगेको छ । उपत्यकाका विभिन्न स्थानमा गरि १२ जनामा हैजा पुष्टी भएको स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामीको उपचार भईरहेको छ । गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह समेत गरेको छ ।

    के हो हैजा ?
    पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका संक्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने गर्दछ । चिकित्सकहरूका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुन्छ । संक्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्छ ।

    हैजाका लक्षणहरू
    १.निरन्तर दिसा लाग्नु
    २.दिसा अधिक पातलो हुनु
    ३.पटकपटक बान्ता आउने
    ४.पेट वा खुट्टाको मांसपेशी बाउँडिने
    ५.छाला चाउरी पर्न थाल्ने
    ६.आँखा गाडिनुका साथै मुख सुक्खा हुने
    ७.रक्तचाप कम हुने
    ८.धेरै पसिना आउने
    ९.रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्ने
    १०.लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ ।

    बच्ने उपायहरु
    १.पानी राख्ने भाँडो सफा र सधैँ छोपेर राख्ने
    २.सकेसम्म पानी उमालेर पिउने
    ३.उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपानी फिल्टर गरी उमालेर पिउने
    ४.काँचो खानेकुरा सकेसम्म नखाने गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाइ खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर खाने
    ५.बाहिरबाट आउनेबित्तिकै साबुनपानीले हातधुने बानी बसाल्नु पर्छ ।
    ६.धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images