काठमाडौं – तिहार नजिकिँदै गर्दा बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई आफ्ना दाजुभाइको सम्झनाले सताउन थालेको छ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाउनुभएको छैन । यस वर्ष घर फर्किएर दाजुभाइलाई टीका लगाउने इच्छा भए पनि पूरा हुन नसकेको उहाँ बताउनुहुन्छ। “यो वर्ष त पक्कै घर फर्किएर टीका लगाउन पाउँछु भन्ने लागेको थियो। तर सम्भव भएन। धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको,” उनले भने ।
तिहार नेपाली समाजमा उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । विशेषगरी तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र अटुट सम्बन्धको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाइदिने परम्परा छ । तर रोजगारी र पारिवारिक जिम्मेवारीका कारण परदेशिएका धेरै नेपालीका लागि भाइटीका प्रत्यक्ष भेटघाटभन्दा सम्झना र शुभकामना आदानप्रदानमा सीमित हुन थालेको छ। पुष्पालाई पनि चाडपर्वका बेला घरपरिवार र दाजुभाइको सम्झनाले भावुक बनाउँछ। प्रत्यक्ष भेटेर टीका लगाउन नपाए पनि टाढैबाट शुभकामना र आशीर्वाद पठाउने गरेको उ बतााउछन् । दोर्दी गाउँपालिकाका अमृत घिमिरेको अनुभव पनि उस्तै छ । तीन वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा रहनुभएका उहाँले यस अवधिमा बहिनीसँग भाइटीका लगाउन पाउनुभएको छैन । “तीन वर्षदेखि बहिनीसँग टीका लगाउन पाएको छैन। अरूले भाइटीका लगाएको देख्दा आफ्नो निधार खाली हुँदा निकै नरमाइलो लाग्छ,” उनले भने ।
घरमा परिवारका सदस्यले भाइटीका लगाएको दृश्य मोबाइलमार्फत हेर्ने र कुराकानी गरेर चित्त बुझाउने गरेको उ बताउछन् । यस वर्ष पनि प्रत्यक्ष सहभागी हुन नपाउने भएपछि भिडियो कलमार्फत परिवारसँग जोडिएर पर्वको खुसी साट्ने उनको योजना छ । आठ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका बेँसीसहरका पूर्ण श्रेष्ठले पनि लामो समयदेखि दिदीको हातबाट भाइटीका लगाउन पाउनुभएको छैन। रोजगारी गर्दै परिवारको भविष्य निर्माण गर्ने उद्देश्यले अमेरिका पुग्नुभएका उहाँ विभिन्न कारणले नेपाल फर्कन नसक्दा हरेक वर्ष तिहारमा दिदी र घरपरिवारको सम्झनाले सताउने गरेको बताउनुहुन्छ।
“तिहार आउँदा आफ्नी दिदीको धेरै सम्झना आउँछ। वर्षौँदेखि उनको हातबाट टीका लगाउन पाएको छैन । आफ्नो संस्कार र संस्कृति सम्झिँदा घरपरिवारसँगै बसेर तिहार मनाएका पुराना दिनहरू आँखाअगाडि आउँछन्,” उनले भने । रोजगारीका कारण आफूजस्तै धेरै दाजुभाइ तथा दिदीबहिनी परिवारबाट टाढा रहनुपरेको उहाँको अनुभव छ। बेँसीसहरकै धनलाल श्रेष्ठको भाइटीका पनि तीन वर्षदेखि अधुरो छ। रोजगारीका सिलसिलामा विदेशिएकी उनकी बहिनी दुई वर्षपछि फर्किने आश्वासन दिएर गएको भए पनि तीन वर्ष बितिसक्दा घर फर्कन सकेकी छैनन् ।
धनलालले सधैँ आफ्नै बहिनीको हातबाट टीका लगाउँदै आउनुभएको थियो। बहिनीबाहेक अरूको हातबाट टीका लगाउन मन नलागेपछि उहाँले तीन वर्षदेखि भाइटीकामा निधार खाली राख्दै आएको छ । “दुई वर्षपछि आउँछु भनेर विदेशिएकी बहिनी तीन वर्ष बितिसक्दा पनि फर्किएकी छैनन्। म सधैँ आफ्नै बहिनीको हातबाट टीका लगाउने मान्छे हुँ । बाहेक अरूको हातबाट टीका लगाउन मन लागेन। त्यसैले अहिलेसम्म लगाएको छैन। यस वर्ष पनि निधार खाली नै रहने भयो। बहिनी फर्किएपछि अर्को वर्ष उहाँकै हातबाट टीका लगाउने प्रतीक्षामा छु,” उनले भने ।
यी अनुभवले वैदेशिक रोजगारी र बसाइँसराइले नेपाली परिवारको चाडपर्व मनाउने शैलीमा ल्याएको परिवर्तन झल्काउँछन्। एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेशिएका दाजुभाइ तथा दिदीबहिनी छन् भने अर्कातिर घरमा बसेर उनीहरूको प्रतीक्षामा रहेका आफन्त छन्। कतिपयले नजिकका आफन्तको अभावमा धर्म दाजुभाइ वा धर्म दिदीबहिनीसँग सम्बन्ध गाँसेर भाइटीकाको परम्परालाई निरन्तरता दिइरहेका छन् । प्रविधिको विकाससँगै विदेशमा रहेका आफन्तले भिडियो कलमार्फत कुराकानी गर्दै शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली माला, ओखर, विमिरो र तेलको घेरालगायतका विधि पूरा गर्ने परम्परा छ। तर प्रविधिमार्फत हुने कुराकानीले प्रत्यक्ष भेटेर निधारमा टीका लगाउने र परिवारसँगै बसेर पर्व मनाउने अनुभूतिको स्थान लिन सकेको छैन ।
रोजगारी र पारिवारिक जिम्मेवारीले भौगोलिक रूपमा टाढा बनाए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता भने कमजोर भएको छैन। कसैका लागि यस वर्षको भाइटीका भिडियो कलमै सीमित हुनेछ भने कसैको निधार आफ्नै दिदीबहिनीको प्रतीक्षामा खाली रहनेछ। दूरीले भेटघाट टाढा बनाए पनि एकअर्काप्रतिको माया, सम्झना, शुभकामना र आशीर्वादले उनीहरूको सम्बन्धलाई जीवन्त राखिरहेको छ ।






















