images
images
  • पहिरोको जोखिममा छेडेदह ताल, जग्गा विवादले रोकियो संरक्षण

    काठमाडौं – बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेको प्रसिद्ध छेडेदह ताल संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको छ । स्थानीयले ‘प्रेम ताल’ समेत भन्ने गरेको यो तालमा पहिरोको जोखिम बढ्दै गए पनि जग्गा विवादका कारण संरक्षण तथा व्यवस्थापनका काम अघि बढ्न सकेका छैनन् ।

    डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको छेडेदह ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा अवस्थित छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड र यही तालको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो ।

    तर आवश्यक संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा तालले अपेक्षित पर्यटकीय पहिचान बनाउन सकेको छैन । त्यसमाथि पछिल्लो समय ताल नजिकै पहिरो पुग्न थालेपछि यसको अस्तित्व नै जोखिममा परेको स्थानीयको चिन्ता छ । स्थानीय राजेश सुनारका अनुसार खप्तड छेडेदह–४ को पड्नापानीमा गएको पहिरो तालको नजिकै पुगेको छ । पहिरोले यसअघि नै करिब ७० परिवारको खेतीयोग्य जमिन बगाइसकेको उनले बताए । “पहिरो तालको छेउमै पुगिसकेको छ। तत्काल नियन्त्रणका लागि पहल नभए ताल फुटेर ठूलो क्षति हुन सक्छ । त्यसो भए सयौँ परिवार विस्थापित हुने जोखिम छ,” सुनारले भने।

    जग्गा विवादले रोकियो संरक्षण

    तालको संरक्षण र व्यवस्थापनमा मुख्य बाधकका रूपमा स्थानीयबीचको जग्गा विवाद देखिएको छ। खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष दलबहादुर धामीका अनुसार ताल आसपासको जग्गामा वडा नं. ४ र ७ का स्थानीयले आ–आफ्नो दाबी गर्दै आएका छन् । “जग्गा विवाद समाधान नहुँदा तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाले काम गर्न सकिरहेको छैन,” उनले भने ।

    वडाध्यक्ष धामीका अनुसार जग्गाधनीहरूले गाउँपालिकाले नीतिगत निर्णय गरेर जग्गाको मुआब्जा उपलब्ध गराएपछि मात्र व्यवस्थित काम गर्नुपर्ने अडान राख्दै आएका छन् । खप्तड छेडेदह–७ का वडाध्यक्ष खगेन्द्र रावतले पनि स्थानीयबीच लामो समयदेखि जग्गासम्बन्धी विवाद रहँदै आएको बताए । विवाद समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल गरिए पनि निष्कर्षमा पुग्न नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरण गरिएको तालको संरक्षण गर्न नसके भविष्यमा यसको अस्तित्व सङ्कटमा पर्ने बताए ।

    गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले जग्गा विवादकै कारण पहिरो नियन्त्रण र ताल संरक्षणका काम अघि बढाउन कठिन भएको स्वीकार गरे । यसअघि वडाध्यक्षमार्फत सम्बन्धित स्थानीयसँग छलफल गरिएको भए पनि सहमति जुट्न नसकेको उनले बताए । “ताल आसपासको जग्गा नापेर मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ। जग्गा विवादकै कारण तालको अस्तित्व जोखिममा परेको छ । अब विवादभन्दा पनि सहयोग र समन्वय गरेर निर्णायक छलफल गरी संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्छ,” अध्यक्ष रावतले भने ।

    उनका अनुसार ताल आसपासको पहिरो नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेको छ । तर जग्गा विवादका कारण ताल संरक्षण तथा व्यवस्थापनको डीपीआरसमेत तयार हुन सकेको छैन। तालमा पूर्वाधार निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट विगतमा सानातिना बजेट विनियोजन हुँदै आएको उनले जानकारी दिए ।

    धार्मिक र पर्यटकीय सम्भावना

    छेडेदह ताल प्राकृतिक सौन्दर्यका साथै धार्मिक आस्थाका दृष्टिले पनि महत्त्वपूर्ण छ । तालको छेउमै खापर मन्दिर रहेको छ । बझाङ, अछामलगायत जिल्लाबाट समेत पर्यटक ताल अवलोकनका लागि पुग्ने गरेका छन् । बझाङसँग जोडिएको यो क्षेत्र मार्तडी–थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको नजिकै पर्छ । रारा–खप्तड पैदल यात्रासँग समेत जोडिएकाले यसको पर्यटकीय महत्त्व अझ बढेको स्थानीयको भनाइ छ ।

    स्थानीय गणेश बुढाका अनुसार ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ । तर अहिले संरक्षण र पूर्वाधारको अभावमा यसको सम्भावना उपयोग हुन सकेको छैन । पर्यटकलाई आकर्षित गर्न तालसम्म पुग्ने सडक तथा पदमार्ग स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहोर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार आवश्यक देखिएका छन्। साथै तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी पर्यटकीय संरचना निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

    संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक

    छेडेदह तालको संरक्षणका लागि पहिरो नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। त्यससँगै जग्गा विवाद समाधान गरी दीर्घकालीन गुरुयोजना निर्माण, पर्याप्त बजेट विनियोजन र व्यवस्थित पर्यटकीय पूर्वाधार विकास गर्न आवश्यक छ । प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको छेडेदह ताल अहिले संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ। समयमै पहिरो नियन्त्रण र संरक्षणका काम अघि बढाउन नसके यो प्राकृतिक सम्पदा गुम्ने जोखिम मात्र होइन, आसपासका बस्ती र स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images