काठमाडौं – देशका विभिन्न चार जिल्लामा पछिल्लो २४ घण्टामा भएका सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका ७७ वर्षीय लखन अहिरको मृत्यु भएको हो ।
त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सुपप्र ०१–००८ प ५८७७ नम्बर र भे १० प ९९३६ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दिया र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो ।
यसैगरी, नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ४७ वर्षीय बुद्धिमान तामाङ तथा मोटरसाइकलमा सवार ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङ विदुर नगरपालिका–९ का बासिन्दा हुन् भने उनको स्थायी घर धादिङको खनियाबास गाउँपालिका–५ रहेको थियो । दुर्घटनामा मृत्यु भएका तीनै जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।






















