काठमाडौं – चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले मोबाइल टावर जडान गरेपछि स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको सञ्चार समस्या समाधान भएको छ। टावर नहुँदा फोन नलाग्ने र इन्टरनेट सेवा प्रयोग गर्न कठिनाइ हुँदै आएको यस क्षेत्रमा अहिले नेटवर्क सेवा सहज बनेको छ ।
स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले उक्त क्षेत्रमा नेटवर्क कमजोर रहेकाले टावर निर्माण गरिएको बताए ।
पर्यटकीय गन्तव्यका रूपमा महत्त्वपूर्ण रहेको उपरदाङ्गढीमा सञ्चार सुविधा विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ । टावर सञ्चालनमा आएपछि स्थानीयवासीसँगै त्यहाँ पुग्ने पर्यटकलाई समेत फोन र इन्टरनेट प्रयोग गर्न सहज भएको छ ।
नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार भरतपुरकै चौकीडाँडामा पनि अर्को टावर जडान भइसकेको छ । उक्त टावर छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए ।
चौकीडाँडाको टावर सञ्चालनमा आएपछि जिल्लाका विकट पहाडी क्षेत्रमा पनि नेपाल टेलिकमको नेटवर्क सेवा विस्तार हुने अपेक्षा गरिएको छ।






















