काठमाडौं – मिथिला क्षेत्रमा सोमबार सोमवती अमावस्या पर्व धार्मिक विधिपूर्वक मनाइएको छ। औँसी तिथिमा सूर्योदय भएका दिन यो पर्व मनाउने मैथिल परम्पराअनुसार मिथिलावासीले बिहानै विभिन्न धार्मिक नदी, तलाउ तथा जलाशयमा स्नान गरी पिपल वृक्षको पूजाआराधना गरेका छन् ।
मिथिला क्षेत्रमा सोमवती अमावस्यालाई अत्यन्त पवित्र दिनका रूपमा लिने गरिन्छ। यस दिन पवित्र जलाशयमा स्नान, पिपलको पूजा, दान तथा श्राद्ध गर्दा अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको मैथिल लोकपरम्पराका ज्ञाता तथा मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए ।
उनका अनुसार आइतबार बिहान ११ बजेअघि सुरु भएको औँसी तिथि सोमबार बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो। सोमबार सूर्योदय औँसी तिथिमै भएकाले यस दिन सोमवती अमावस्या मनाइएको उनले स्पष्ट पारे ।
पर्वका अवसरमा महोत्तरीका रातु ठाकुर र माण्डवीगङ्गा नदी, जलेश्वरस्थित पुरन्दरसर, वरुणसर र भार्गवसर, मटिहानीको लक्ष्मीसागर, बलवा–९ स्थित ध्रुवकुण्ड तथा कञ्चनवनलगायत धार्मिकस्थलमा बिहानैदेखि श्रद्धालुको उपस्थिति रहेको थियो। ती स्थानमा स्नान गरेपछि श्रद्धालुले पिपल वृक्षको पूजा गरेका थिए ।
मैथिल कर्मकाण्डका अर्का ज्ञाता तथा भङ्गाहा–५ सिद्धपुरका ७० वर्षीय रामनारायण झाका अनुसार अमावस्या र सोमबार दुवै भगवान् शिवसँग सम्बन्धित मानिन्छन् भने पिपल वृक्षलाई भगवान् विष्णुको स्थानका रूपमा पूजा गर्ने शास्त्रीय मान्यता छ। त्यसैले सोमवती अमावस्याले दुवै इष्टदेवको स्मरण गराउने उनको भनाइ छ ।
यस वर्ष दीपावली पर्वकै बीच सोमवती अमावस्या परेको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको दीपावलीअन्तर्गत आइतबार साँझ लक्ष्मीपूजा गरिएको थियो। औँसी तिथिकै अवधिमा सोमबार गौपूजा अर्थात् गाईपूजा पनि गरिँदैछ ।






















