काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्र्तक्रिया गर्दै उनले बर्षौ देखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन् ।
उनले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भूगाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भईरहेको बताए ।
उनले भने,‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ । महाकाली पुर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौ र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने विगत ५८ बर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’
छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापुर्ण सम्बन्ध भएकोमा आस्वश्त तुल्याए ।
उनले कतिपयले आफुलाई भारतसँगको सम्बन्ध विगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरे ।
अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रलाई आग्रह गरे ।
उनले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रीय निर्देशक लगायत विभिन्न दूतावासहरुमा सकारात्मक सहयोग रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए ।
भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरूको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरूले खोप उत्पादक कम्पनी र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तीब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।


विश्व खबर 


















