काठमाडौं- जेलभित्रै पुगेर गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्ने डीएसपी मिलन केसीमाथि छानबिन सुरु भएको छ । प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेको हो ।गुण्डा नाइके बस्नेतलाई भेट्ने डीएसपी केसी उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्।
प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेपछि उनलाई रानीपोखरी तानेर छानबिन सुरु भएको छ।छानबिनका लागि एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।उनी किन त्यहाँ गएका थिए भन्ने अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए।
निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा समीरमानसिंह पुर्पक्षका लागि थुनामा छन्।२०७४ असोजमा गौचन हत्या भएको थियो। २ करोड रुपैयाँ चन्दा नदिँदा बस्नेतकै योजनामा हत्या भएको प्रहरीको दाबी छ।
उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै एआईजी रबिन्द्र धानुकले प्रहरीलाई गुण्डागर्दीमा संलग्नसँग साँठगाँठ नगर्न निर्देशन दिएका थिए। त्यसको केही दिनमै त्यतिबेलाको निर्देशनमै सहभागी भएका डीएसपी केसीको संलग्ता देखिएको हो।























