नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताउनुभयो । पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण गर्ने उहाले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयबस्तु हुने पनि आयोगले जनाएको छ ।
त्यसैगरी बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौंधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।























