काठमाडौं-काठमाडौंमा सोमबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरमा गएराति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी राईको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई सोमबार राति पौने १० बजे ठक्कर दिएको थियो । अनुसन्धानबाट राईले राइड शेयरिङ प्लेटफर्म पठाओबाट अफलाइन यात्रा गरेको खुलेको छ । ‘पठाओमा राईको नम्बरबाट रिक्वेस्ट पठाएको र यात्रा सुरु हुनुअघि राईले नै राइड क्यान्सिल गरेको देखिएको छ,’ पठाओले जनाएको छ ।
पठाओबाट अफलाइन यात्रा हुँदा मृतक राईको परिवार बीमा सुविधाबाट वञ्चित हुने प्रावधान छ । हाल पठाओ यात्राका क्रममा मृत्यु वा अपांगता हुन पुगेको खण्डमा एभरेष्ट इन्स्योरेन्समा १० लाखसम्मको बीमा दाबी गर्न सकिने व्यवस्था छ । यद्धपी अफलाइन राइड भए राइडर र यात्रु दुवैले बीमा सुविधा पाइने छैन् ।
‘सोमबार राति भएको सवारी दुर्घटनाको प्रमाण छैन,’ पठाओले भन्यो, ‘अनलाइन राइड हुँदा सबै विवरण एपले नै ट्रयाक गर्छ । तपाईं कहाँबाट कहाँ पुगिरहनुभएको छ भन्ने कुरा एपबाटै ट्रयाक भइरहेको छ । तर अफलाइन यात्राको विवरण नहुँदा बीमा सेवा प्रदायकले रकम भुक्तानी गर्न सक्दैन ।’ पठाओ अनलाइन राइड शेयरिङ सेवा भएकाले राइडरले क्यान्सिल गरेपनि प्रयोगकर्ताले थाहा पाउन जरूरी रहेको पठाओ स्रोत भन्यो ।
‘राइडरले क्यान्सिल गर्न लगाएको अवस्थामा पठाओमा कम्प्लेन गर्न वा अर्को राइड बुक गर्नसक्ने विकल्प छ । तर अफलाइन यात्रा गर्नु हरेक किसिमले जोखिमयुक्त छ।’यात्रुले राइडकै क्रममा आफ्नो विवरण सोसल मिडियामा आफन्तलाई पनि शेयर गर्नसक्छन् । चढिरहेको र चढ्ने व्यक्ति दुवैको जानकारी एपमा देख्न सकिन्छ । तर अफलाइन यात्रामा कुनै जानकारी हुँदैन । ‘साथै एपमै रातो बटन दिइएको छ, जसमार्फत प्रयोगकर्ताले कुनै आपत परे १०० मा डायल गरी प्रहरीलाई जानकारी दिने विकल्प पनि छ।’























