काठमाडौं-उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र कसुर मानी पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले फोहोर नछुट्याए घर वा कार्यालयको फोहोर नउठाइने र कानुनबमोजिम कारबाही पनि गरिने जनाएको हो । ‘हामीले १ वैशाखदेखि नै घर, कार्यालयको फोहोर छुट्याउन सूचना जारी गरिसकेका छौँ । यो योजनालाई अगाडि बढाउन हामी अहिले थप छलफलमा छौँ,’ महानगरअन्तर्गत वातावरण विभागकी प्रमुख सरिता राईले भनिन् । नवनिर्वाचित जनप्रतिनिधि आउनुअगावै महानगरले पटक–पटक सूचना जारी गरे पनि कार्यान्वयनमा आउन नसकेको फोहोर छुट्याउने कार्यलार्ई १ साउनदेखि भने कडाइ गरिने भएको हो ।
फोहोर वर्गीकरण गर्नाले वेलावेलामा फोहोर व्यवस्थापनमा देखिने समस्यामा कमी आउने महानगरले आकलन गरेको छ । महानगरले गत वैशाखमा जारी गरेको सूचनाअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२, १ र २ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार स्रोतमै फोहोरको पृथकीकरण गर्नुपर्नेछ । उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर मात्रै संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने भएको छ ।
घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को थ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना हुने वातावरण विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ । वातावरण विभाग प्रमुख राईले भने बन्चरेडाँडामै फोहोर लैजान नसकिरहेको अवस्थामा फोहोर छुट्याउने विषयमा थप छलफल नभइसकेको बताइन् । ‘साउनदेखि फोहोर छुट्याउन त भनेका हौँ । तर, हाललाई बन्चरेडाँडामै फोहोर लैजान सकिरहेको अवस्था छैन । त्यसैले कुन दिन कुहिने र कुन दिन नकुहिने फोहोर लिने, महानगरले यसमा के सहयोग गर्ने भन्ने सूचना केही दिनमै जारी गर्नेछौँ । यसका लागि उपत्यकाका अरू स्थानीय तहसँग पनि छलफल गरिरहेका छौँ,’ उनले भनिन् । उपत्यकामा १८ वटा स्थानीय तहबाट दैनिक १० देखि १२ सय टन फोहोर उत्पादन हुन्छ । जसमध्ये ५० प्रतिशत फोहोर काठमाडौं महानगरभित्र उत्पादन हुन्छ ।























