images
images
  • काँग्रेस १४ औं महाधिवेशन : रामचन्द्र पौडेलका दुई विकल्पमा देउवाको जवाफ


    काठमाडौं । नेपाली काँग्रेसमा निर्धारित (भदौं ७–१०) मितिभित्र पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे औपचारिक बहस प्रवेश भएको छ ।

    नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका हुन् ।

    उनले भने, अहिलेसम्म जे जति क्रियाशील सदस्यता टुंगिएको छ । त्यहीबाट महाधिवेशन गयौं । केन्द्रीय समितिको चुनाव गर्नैपर्छ । सम्पूर्ण काम सकेर अधिवेशन गर्न सकिएन भने एक वर्षका लागि केन्द्रीय समितिको चुनाव गर्ने सक्ने विकल्प छ । १३ औं महाधिवेशनका प्रतिनिधि खडा छन् ।

    पौडेलको प्रस्तावको जवाफ दिँदै देउवाले आफू सबै विकल्पमा जान तयार रहेको भन्दै बसेर छलफल गर्नुपर्ने बताए । ‘म समयमै महाधिवेशन गर्न तयार छु । पुराना प्रतिनिधिसभाबाट महाधिवेशन गर्दा नयाँ रिसाउँछन् । विकल्पबारे हामी बसेर कसरी हुन्छ छलफल गरौं’ देउवाले भने ।

    यस्तै नेता पौडेलले पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको आसय प्रकट गरेकामा पनि देउवाले जवाफ दिएका छन् । ‘महाधिवेशन गर्ने पक्षमा म पनि छु। कसरी गर्ने तपाईंहरू भन्नुस् न । कोभिड आइदियो त के गर्ने रु कसरी महाधिवेशन गर्ने सरसल्लाह गरौं। म तयार नै छु’ देउवाको भनाइ थियो ।

    उनले आफ्नो प्रजातन्त्रप्रतिको निष्‍ठामाथि प्रश्न नउठाउन पनि नेता पौडेललाई आग्रह गरेका थिए । देउवाले भने, ‘म प्रजातन्त्रका लागि लडेको हो । म प्रजातन्त्रका विरुद्ध जान्छु होला रु म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो ।’

    देउवाले प्रविधिबाट पनि महाधिवेशन गराउन सकिने बताएका थिए । त्यसका लागि पार्टीको सूचना तथा प्रचार विभागले तयारी गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए । उम्मेदवारी दर्ता, बन्द सत्र, मतदानलगायतका कामहरु प्रविधिमार्फत गर्न सकिने गरी तयारी भइसकेको कार्यक्रमा उनको भनाई थियो ।

    उनले भने, ‘प्रविधि प्रयोगका हामीले तयारी गरिसकेको अवस्था छ । पार्टीको निर्णय आउछ नै । तयारीका हिसाबले प्रचार विभागले तयारी गरेको छ ।’ प्रविधिको प्रयोगबिना काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेको छ ।

    किनभने पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।

    संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ । यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसमाथि अहिले कोरोनाको महामारीको अर्को चुनौती थपिएको छ ।

    कोरोना महामारीका कारण ७० बढी जिल्लामा निषेधाज्ञा लागू भएको छ भने कोरोनाकै कारण महाधिवेशनसम्बन्धी अन्य कामसमेत प्रभावित छ । असारको तेस्रोबाट अधिवेशनको चरण सुरु हुनुपर्नेमा जेष्ठ दोस्रो साता बित्न लाग्दा पनि क्रियाशील सदस्यताको कामले पूर्णता पाएको छैन ।

    क्रियाशील सदस्यता छानविन समितिका अनुसार हालसम्म साढे ७ लाख बढी क्रियाशील सदस्यको विवरण पार्टीको डेटा सिस्टममा इन्ट्री भएपनि त्यसको छानविन बाँकी छ । सिन्धुपाल्चोकमा समायोजनकै काम हुन सकेको छैन भने समायोजन भएको सप्तरी, बारा र सिराहाको विवाद कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images