काठमाडौं- चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको अवधिमा आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको वार्षिक आयात बराबर हो । यस्तै, यस अवधिमा निर्यात ८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब पुगेको छ । चालु वर्षको ८ महिनाको तथ्यांक केलाउँदा निर्यातको तुलनामा आयात भयावह स्थिति छ ।
तथ्यांकमा तुलनात्मकरूपमा बढेको देखिए पनि निर्यात परिमाण न्यून हुँदा ८ महिनाको व्यापार घाटा नै ११ खर्ब रुपैयाँभन्दा बढी छ । यसले नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’ लाई नै असर पारेको छ । यस्तै, कोभिड–१९ महामारीका कारणले विदेशी पर्यटक नआउँदा र विदेशी मुद्राको भरपर्दो स्रोत रेमिट्यान्स निरन्तर घट्दा अर्थतन्त्रमा थप चाप परेको हो ।
आयात उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति बाहिरिने क्रम तीव्र बन्दा विदेशी मुद्रा भित्रिने क्रम न्यून भइ भुक्तानी सन्तुलनको अवस्था बनेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५८ करोड रुपैयाँ छ । यसले अहिलेको गतिमा आयात भइरहेमा ६।७ महिनाको आयात धान्न सक्छ ।
त्यसैले बढ्दो आयात दरलाई नियन्त्रण गर्ने गरी राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थासहित कडाई गरेको हो । आयात कडाइको सूचीमा सुन समेत परेपछि केन्द्रीय बैंकले एलसी नै नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दियो । यससँगै सुनको आयात रोकिएको हो ।
चालु वर्षको ८ महिनामा सुन आयात गर्दा २८ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । यसअवधिमा ४० लाख ४४ हजार ग्राम सुन भित्रिएको छ । गत वर्षको यही अवधिमा १६ अर्ब २८ करोड रुपैयाँ बराबरको २३ लाख ग्राम सुन भित्रिएको थियो । गत वर्षको तुलनामा सुन आयातमै दोब्बर रकम बाहिरिएपछि राष्ट्र बैंकले केही समयलाई यसको आयात बन्देज लगाएको हो ।


विश्व खबर 




















