काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय स्कुटर बनाएको छ । नास्टले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको हो । विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् । विद्युतीय स्कुटर लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको बताइएको छ ।
नास्टले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको जनाएको छ । स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । ब्याट्रीको क्षमता बढाउन पनि मिल्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ ।
प्रतिष्ठानका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्न सक्छ । एउटा नमूना स्कुटर बनाउन तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने नास्टको अनुमान छ ।


विश्व खबर 




















