images
images
  • फेरी बढ्यो घरजग्गा कारोबार, फागुनमा ७४ हजारभन्दा बढी बिक्री

    काठमाडौं- तरलता (लगानीयोग्य रकम) अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न छाडे पनि घरजग्गा किनबेच भने बढेको छ ।

    तरलता अभाव र ब्याजदर वृद्धिकै बिच फागुनमा देशभरी ७४ हजार ३६ घरजग्गा बिक्री भएका छन् । यो संख्या माघको तुलनामा साढे १४ हजार बढी हो । देशभरी माघ महिनामा ५९ हजार ५१६ घरजग्गा किनबेच भएका थिए ।

    बैंकले कर्जा प्रवाहमा कडाई गर्नुका साथै ब्याजदर समेत बढाउँदा घरजग्गा कारोबारमा मन्दी आउने बजार हल्लाको विपरित किनबेच उत्साहजनक देखिएको हो ।

    तरलता अभाव भएर बैंकले कर्जा प्रवाह गर्न नसकेकै बेला फागुन महिनामा धितो बन्धक र फुकुवा पनि बढेको छ । फागुनमा देशभर ३६ हजार ५७२ घरजग्गा धितो बन्धक राखिएको छ भने २४ हजार ७४९ घरजग्गा फुकुवा भएका छन् । जबकी, माघमा ३० हजार ९८५ घरजग्गा धितो बन्धक र १८ हजार ६७६ घरजग्ग फुकुवा भएका थिए ।

    बैंकले ऋण प्रवाह गर्दा मालपोत कार्यालयमा पुगेर ऋण लिने व्यक्तिको घरजग्गा धितो बन्धक राख्ने गर्छन् । पुरै ऋण चुक्ता गरेपछि धितो बन्धक राखेको सम्पत्ति फुकुवा गरिदिन्छन् । नेपालका बैंकहरुले अधिकांश ऋण अचल सम्पत्ति धितो राखेर प्रवाह गर्ने गरेका छन् ।

    फागुनमा देशभरका मालपोत कार्यालयहरुले सेवाग्राहीलाई १ लाख ६२ हजार ६७८ सेवा प्रवाह गरेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

    फागुनमा पनि सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा सुनसरीको इनरुवा (इटहरीश्) मालपोत कार्यालय नै अगाडि देखिएको छ । इनरुवा मालपोतबाट एक महिनामा ३२ सय ८६ घरजग्गा किनबेच भएका छन् । दोस्रो नम्बरमा रहेको मोरङको बेलवारी मालपोतबाट २८ सय ७२ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

    झापाको भद्रपुर मालपोतमा २७ सय ७२, झापाकै दमकमा १४ सय ७५, मोरङ बिराटनगरमा १५ सय ७८, सप्तरीको राजविराजमा १४ सय ६४, धनुषाको जनकपुरमा २४ सय ९८६, महोत्तरीको जलेश्वरमा १२ सय ६४ घरजग्गा किनबेच भएका छन् ।

    यस्तै, काभ्रेमा १९ सय ३०, ललितपुरको लगनखेलमा २१ सय ६७, भक्तपुरमा १ हजार ३६, कलंकीमा १८ सय ३२, मकवानपुरमा १७ सय २२, पर्सामा १३ सय ८१, चितवनमा १७ सय ५८, रुपन्देहीको भैरहवामा ११ सय ४८, दाङको तुलसीपुरमा १४ सय, बाँकेको नेपालगञ्जमा २४ सय ४९, रुपन्देहीको बुटवलमा १३ सय ८० घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

    राजश्व असुली पनि बढ्यो :
    देशभरी घरजग्गा किनबेच बढेपछि राजश्व संकलन पनि बढेको छ । फागुनमा देशभरका मालपोत कार्यालयबाट रजिष्ट्रेशन शुल्क, पूँजिगत लाभकर लगायत विभिन्न शिर्षकमा ६ अर्ब २६ करोड रुपैयाँ राजश्व असुली भएको विभागले जनाएको छ ।

    माघ महिनाको तुलनामा फागुनमा करीव ७६ करोड रुपैयाँ बढी राजश्व संकलन भएको हो । माघमा देशभरका मालपोत कार्यालयबाट ५ अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

    फागुनमा रजिष्ट्र शुल्कवापत ३ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ भने पुँजीगत लाभकरवापत १ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । सेवा शुल्कवापत २३ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

    फागुनमा लगनखेल मालपोतबाट ५४ करोड, भक्तपुरबाट ३८ करोड, डिल्ली बजारबाट ४५ करोड, चावाहिलबाट ३८ करोड, कलंकीबाट ३९ करोड साँखुबाट १५ करोड, काभ्रेबाट १६ करोड, कास्कीबाट १२ करोड, बाँकेबाट ११ करोड, विराटनगरबाट १३ करोड, इनरुवाबाट १० करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images