images
images
  • सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल

    काठमाडौं- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् ।

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् ।

    एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् ।

    पौडेलले एमसीसी सम्झौताका दफा उपदफा तथा अमेरिकी मन्त्री, राज्यमन्त्री र राजदूतहरुले दिएका अभिव्यक्तिबाट सैन्य रणनीति अन्तर्गत भएकाले स्वीकार्न नहुने बताएकी छन् । उनले यो परियोजना चीन विरुद्धको घेराबन्दीबाहेक अरु केही नहुने भन्दै यसको विपक्षमा आफ्नो पार्टी उभिने बताइन् ।

    ‘एमसीसी आर्थिक र विकास सम्बन्धी योजना भएको बताइन्छ तर अमेरिकाका मन्त्रीहरुले एमसीसी इण्डोप्यासिफिक रणनीति आइपीएसको अंग भएको बताएका छन्’ पौडेलको भनाइ छ । त्यस्तै उनले एमसीसी नेपालका लागि आत्मघाती भएकाले खारेजी गर्न माग गरिन् । ‘आइपीएस चीन विरुद्धको घेराबन्दी हो । यसले नेपाललाई प्रयोग गर्न चाहन्छ । त्यसैले नेपाल सैन्य प्रयोजनका लागि प्रयोग गर्न दिनुहुँदैन । त्यो असंलग्न परराष्ट्र नीतिको विपरित छ । यसको खारेज गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images