images
images
  • एमालेले गर्‍यो आयोगमा दल दर्ता

    काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    शुक्रबार निर्वाचन आयोगमा पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । आयोगले जारी गरेको सूचनाअनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।

    पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

    उनले भने, ‘स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । र, हाम्रो पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि आएका थियौं । दल दर्ता गरिएको छ । र, यसपटक स्वाभाविक रूपमा एउटा नयाँ प्रक्रिया हामीले आरम्भ गरेका छौं, निर्वाचन कानुन अन्तर्गत । अहिले देशभरि नै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु ।’

    यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको जानकारी दिए ।

    प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताए । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images