काठमाडौं– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
बाढीमा परी जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ विद्यार्थी बेपत्ता भएका छन् भने २०१ अभिभावकसमेत सम्पर्कविहीन छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।
सयौँ बालबालिकाले गुमाए अभिभावक
प्याब्सनको तथ्याङ्कअनुसार बाढीका कारण गोसाइँकुण्ड बोर्डिङका ४६, हाइल्याण्ड आवासीय माविका ४२, नमूना एभरग्रिनका ४१, मोडर्न ट्रिनिटीका ३३, ग्रीनगार्डनका २५, नर्थपोलका नौ र हिमालयनका पाँच विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।
आमाबुबा तथा अभिभावक गुमाएपछि ती बालबालिकाको पठनपाठनसमेत अन्योलमा परेको छ । आश्रय र संरक्षणको अभावमा धेरै बालबालिका मानसिक तथा भौतिक संकटमा परेको प्याब्सनले जनाएको छ ।
विद्यालयका संरचनामा पनि क्षति
बाढीले जिल्लाका विभिन्न भौतिक संरचनासँगै शैक्षिक संस्थामा समेत क्षति पुर्याएको छ । मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका पनि बाढीपछि बेपत्ता भएका छन् ।
प्याब्सन रसुवाका अध्यक्ष लामाका अनुसार विद्यालयको छात्रावासमा रहेका अभिभावकविहीन विद्यार्थीको खानपानको व्यवस्था मिलाइएको छ ।
विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक खाद्यान्न तथा अन्य सामग्रीसमेत उपलब्ध गराइएको उनले जानकारी दिएका छन् ।
पाँच विद्यालय सञ्चालनमा
रसुवाका सात संस्थागत विद्यालयमध्ये पाँचवटा पुनः सञ्चालनमा आइसकेका छन्। ठूलो क्षति पुगेका दुई विद्यालय पनि आवश्यक तयारी पूरा गरी केही समयमै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।
प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले थप सहयोगका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।
केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढी प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन विभिन्न पहल भइरहेको प्याब्सनले जनाएको छ ।


विश्व खबर 


















