काठमाडौं – निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा सडक कटान बढेपछि देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा आवागमन बन्द गरिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले विभिन्न सडकमा निश्चित समयका लागि सवारी आवागमन रोक लगाएका छन् ।
टोखा–छहरे राति बन्द
नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।
भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।
रसुवाको पासाङल्हामु राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको छ ।
त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य राजमार्गसमेत बाढीले क्षति पुर्याएपछि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले शून्य किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै जाने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
सिद्धिचरण लोकमार्गदेखि पृथ्वी राजमार्गसम्म प्रभावित
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाका भित्री सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेक सवारीसाधन तथा पैदलयात्रीको आवागमन रोकिएको छ ।
दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट र भालुवाङ–चकचके सडकखण्ड तथा सहिद मार्गका विभिन्न क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ ।
रोल्पामा भारी वर्षाको सम्भावनाका कारण मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–७ माडीचौर क्षेत्रमा असोज ८ देखि १२ गतेसम्म सवारी आवागमन रोकिएको छ ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, वडा नं १० टिङराङखानी तथा गजुरी गाउँपालिका–२ परेवाभीरमा ढुङ्गासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ ।
चितवनको नारायणगढ–मुग्लिन बन्द
चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खसिरहेका कारण सबै सवारीसाधनको आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
मकवानपुरमा कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै आवागमनको व्यवस्था गरिएको छ । भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा पनि तोकिएको समयमा मात्रै सवारी सञ्चालन गर्न दिइएको छ ।
सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्णरूपमा रोक लगाइएको छ। दोलखामा असोज ८ देखि १० गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकमा आवागमन रोकिएको छ ।
बीपी राजमार्ग र अरनिको सडक पनि प्रभावित
काभ्रेमा बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ ।
रोशी गाउँपालिका–७ चारसयबेँसी र वडा नं ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकमा पनि असोज ८ देखि ९ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा आवागमन रोकिएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकमा क्षति पुर्याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह
नेपाल प्रहरीले मौसम पूर्वानुमानअनुसार सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राखेर विभिन्न सडकमा आवागमन रोकिएको जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।


विश्व खबर 


















