images
images
  • आगलागीले दोभान बजारमा १४ करोड ५६ लाखको क्षति

    काठमाडौं– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा घरसहित खाद्यान्न, किराना पसल, अलैँची गोदाम, भाँडावर्तन तथा घरायसी सामग्री, नगद र सुनका गरगहना जलेर नष्ट भएका छन् ।

    प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पीडित परिवारले दिएको विवरण तथा आगलागीबाट ध्वस्त संरचनाको अवस्थाका आधारमा प्रारम्भिक क्षतिको विवरण तयार गरिएको हो ।

    आगलागीबाट आठ परिवारका १० वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा याम लिम्बू, घनश्याम खरेल, राजु शेर्पा, सुकविर लिम्बू, डण्डु शेर्पा, भीम लिम्बू, राजेन्द्र पौडेल र चन्द्र पौडेलका घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घनश्याम खरेलको करिब दुई करोड रुपैयाँ बराबरको अलैँची राखिएको गोदाम आगलागीबाट पूर्णरूपमा ध्वस्त भएको छ ।

    जलेका घरमा अन्य १४ परिवारले भाडामा कोठा तथा गोदाम लिएर बसोबास गर्नुका साथै विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरूका सामानसमेत आगलागीमा जलेर नष्ट भएका छन् ।

    नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा उद्धारका कामलाई प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images