images
images
  • बाढीले वीपी राजमार्गको डाइभर्सन बगायो, यातायात ठप्प

    काठमाडौं – अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले वीपी राजमार्गअन्तर्गत निर्माण गरिएको अस्थायी डाइभर्सन आंशिक रूपमा बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

    डाइभर्सन बग्नुका साथै राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा प्रभावित भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उक्त मार्ग हुँदै सञ्चालन हुने सवारीसाधन ठप्प भएका छन् ।

    राजमार्गअन्तर्गत चारसयबेँसी, चौकीडाँडा र गिम्तीबेँसी क्षेत्रमा माथिबाट पहिरो खसेपछि सडक थप प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

    अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय भक्तपुरले प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरेको छ । पानी पर्न रोकिएमा करिब पाँच घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको डिभिजन कार्यालयले जनाएको छ ।

    पहिरो पन्छाउने तथा डाइभर्सन पुनःनिर्माणको काम सुरु गरिए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको छ । स्थायी संरचनाको मर्मत तथा डाइभर्सन पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ ।

    सम्बन्धित निकायले वीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images