images
images
  • सातामा दुई दिन बिदाको माग गर्दै भारतमा बैंक हडताल

    काठमाडौं – सातामा दुई दिन बिदाको मागसहित भारतका बैंक कर्मचारीले तीनदिने राष्ट्रव्यापी हडताल गर्ने भएका छन् । युनाइटेड फोरम अफ बैंक युनियन्सको आह्वानमा सेप्टेम्बर २८ देखि ३० सम्म हुने हडतालका कारण बैंकिङ कारोबार प्रभावित हुने भएको हो। हडतालका कारण करिब १५ हजारदेखि २० हजार करोड भारतीय रुपैयाँ बराबरका चेक भुक्तानी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

    हडतालअघि सेप्टेम्बर २६ मा चौथो शनिबार र २७ मा आइतबार परेकाले बैंकिङ सेवामा लगातार पाँच दिनसम्म अवरोध आउन सक्ने अवस्था बनेको छ । त्यसलाई ध्यानमा राख्दै अत्यावश्यक बैंकिङ सेवा सञ्चालनमा राख्न सरकारले आइतबार सरकारी बैंकका शाखा खोल्ने तयारी गरेको जनाइएको छ ।

    हडतालका क्रममा चेक, एनईएफटी, आरटीजीएस, नगद कारोबार, कर्जा प्रवाह, सरकारी भुक्तानी तथा विदेशी मुद्रा कारोबारलगायत सेवा प्रभावित हुन सक्नेछन् ।

    यद्यपि युपीआई, एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय सेवा सञ्चालनमा रहन सक्ने भएकाले सबै बैंकिङ कारोबार पूर्ण रूपमा ठप्प नहुने बताइएको छ ।

    भारतमा युपीआईमार्फत मात्रै दैनिक करिब ८८ हजार करोडदेखि १ लाख करोड भारतीय रुपैयाँसम्म कारोबार हुने गरेको समाचारमा उल्लेख छ । हडतालका कारण रोकिएका कतिपय कारोबार पछि सम्पन्न हुन सक्ने भएकाले सम्पूर्ण कारोबारलाई प्रत्यक्ष नोक्सानीका रूपमा गणना गर्न नमिल्ने बताइएको छ ।

    यसको प्रभाव मुख्यतः भुक्तानीमा हुने ढिलाइ, व्यवसायको नगद प्रवाह र वित्तीय कारोबारको चक्रमा देखिन सक्नेछ । बैंक कर्मचारी संगठनहरूले सातामा पाँच दिन मात्र बैंक सञ्चालन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । हडतालमा लाखौँ बैंक कर्मचारी सहभागी हुने बताइएको छ। भारतका केही ठूला निजी बैंक भने हडतालमा सहभागी नहुने भएकाले ती बैंकका सेवा नियमित सञ्चालनमा रहनेछन् ।

    सेप्टेम्बर ३० भारतका बैंकहरूको अर्धवार्षिक हिसाब मिलानका लागि महत्वपूर्ण दिन भएकाले सो दिनको कारोबार प्रभावित भएमा वित्तीय व्यवस्थापनमा थप दबाब पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images