images
images
  • ६३ मेगावाटको छुजुङ खोला आयोजनालाई ९ अर्ब ऋण जुट्यो

    काठमाडौं – संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ ।

    सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने सम्झौता गरेका हुन् । आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ ।

    सम्झौताअनुसार माछापुच्छ्रे बैंक अगुवा बैंक तथा प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन् । मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन् ।

    आयोजनामा बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट लगानी हुने भएको छ ।
    प्रमुख शेयरधनी घलेम्दी हाइड्रो लिमिटेडको मात्रै करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको कम्पनीले जनाएको छ ।

    आयोजना चार घण्टा अर्धजलाशययुक्त प्रकृतिको हुने बताइएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भइसकेको आयोजनाले वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन गर्ने प्रक्षेपण गरिएको छ ।

    आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । विद्युत उत्पादन सुरु भएपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने र सञ्चालनको नवौं वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

    कम्पनीको वित्तीय विश्लेषणअनुसार आयोजनाको इक्विटीमा प्रतिफल २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर १५.४७ प्रतिशत रहने अनुमान गरिएको छ । आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य ५ अर्ब ३३ करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

    आयोजनाको विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनसम्म करिब ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

    उक्त प्रसारण लाइन सोही नदी करिडोरमा निर्माण हुने अन्य जलविद्युत आयोजनासँगको साझेदारीमा निर्माण गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।

    आयोजनाका लागि आवश्यक १४ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । क्याम्प निर्माण तथा आवश्यक रुख कटानको काम पनि पूरा भएको कम्पनीले जनाएको छ ।

    रुख कटानबापत १० गुणा वृक्षरोपण तथा संरक्षणका लागि वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

    सांग्रिला ऊर्जाका अनुसार आयोजनाको भौगोलिक तथा प्राविधिक संरचनाका कारण तुलनात्मक रूपमा कम लागत र छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने अवस्था छ ।

    आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेको र क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेको कम्पनीले जनाएको छ ।

    सांग्रिला ऊर्जाका प्रवन्ध निर्देशक पुष्कर पौडेलका अनुसार अर्धजलाशययुक्त संरचनाका कारण सुक्खायाममा समेत दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको छ ।

    आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएपछि निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ ।

    माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहवित्तीयकरणमा सहभागी बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

    यसैबीच सांग्रिला ऊर्जाले बाजुरामा १७१ मेगावाट क्षमताको छिम्दी–कवाडी खोला जलविद्युत आयोजना पनि अघि बढाउने भएको छ । उक्त आयोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images