काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई अस्थायी टहरा र टेन्टमा बस्दै आएका परिवार निरन्तरको वर्षाले थप समस्यामा परेका छन् ।
बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी रहेपछि खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्न थालेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउनसमेत समस्या भएको प्रभावित परिवारले बताएका छन् ।
रसुवाबाट विस्थापित भई नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङका अनुसार टेन्टको छानाबाट चुहिएको पानीसँगै जमिनबाट बगेको भलसमेत भित्र पस्दा प्रभावितको बसाइ थप कष्टकर बनेको छ।
रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बस्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बसिरहेका छन्।
खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङका अनुसार टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेका छन्। जमिन हिलाम्मे हुनुका साथै चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको उनले बताएका छन्।
टेन्ट जोगाउन त्रिपाल र पानी निकासको व्यवस्था
अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ।
शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका पाँच स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने तथा जमिनबाट बगेको पानी टेन्टभित्र पस्न नदिन चारैतर्फ पानीको निकास बनाउने काम भइरहेको छ।
वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि स्वयंसेवक परिचालन गरी राहत तथा संरक्षणको काम अघि बढाइएको उनले बताएका छन्। शुक्रबार साँझसम्म सबै स्थानमा रहेका प्रभावितका टेन्टमा त्रिपाल लगाउने लक्ष्य राखिएको छ।
खोज तथा उद्धारमा पनि वर्षाले बाधा
निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ।
त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताएका छन्।
बाढीले पुरिएका संरचनाबाट सुरक्षित सामग्री निकाल्न विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले प्रभावित परिवारलाई सहयोग गरिरहेका छन्। तर, निरन्तरको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे भएपछि खोज तथा उद्धार र सामग्री निकाल्ने काममा कठिनाइ भएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।
नुवाकोटमा २ हजार ५०० भन्दा बढी परिवार प्रभावित
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन्।
भाडामा बस्ने तथा व्यवसाय गर्दै आएका परिवारसमेत जोड्दा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्क छ ।


विश्व खबर 



















