images
images
  • उपत्यकामा जग्गा किन्दा कतै ठगिदै त हुनुहुन्‍न? यस्ता कुरामा विशेष ध्यान दिनुहोला !

    काठमाडौं- उपत्यका विकास प्राधिकरण (केभिडिए)ले काठमाडौं उपत्यकामा स्वीकृति नलिइ अनधिकृत रुपमा गरिएका प्लटिङको जग्गा किनबेचमा रोक लगाउने रणनीति बनाएको छ । अहिले केभिडिए अन्तर्गतका जिल्ला आयुक्त कार्यालय आफ्नो कार्यक्षेत्रभित्र गरिएका प्लटिङ अनुगमन निरिक्षण गरिरहेका छन् ।

    भक्तपुर जिल्ला आयूक्तको कार्यालयले गरेको अनुगमनमा भक्तपुरमा ९२ ठाउँमा अनधिकृत प्लटिङ गरेको भेटिएको छ । जिल्ला आयुक्तको कार्यालयबाट स्वीकृति नलिइ मापदण्ड विपरित विकास गरिएका घडेरी किनबेचमा रोक लगाउने तयारी छ । स्वीकृतिबीनै मापदण्ड विपरित भइरहेका प्लटिङलाई कानुनी दायरामा ल्याउन अनुगमन गरिएको जिल्ला आयूक्त राजेन्द्र प्रसाद पाण्डेय बताउँछन् । यदि कानुनी दायरमा नआउने प्लटिङको जग्गा बिक्रीमा रोक लगाउने तयारी प्राधिकरणको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकामा डाँडा खस्रिएर, खोला–खोल्सा पुरेर, सार्वजनिक जग्गा मिचेर प्लटिङ गर्ने परिपाटी बढ्दो छ । यस्ता ठाउँमा घर बनाएर बस्न सुरक्षाको हिसावले धेरै खतरा हुने प्राधिकरणको ठहर छ । अनुमति लिएर मापदण्ड अनुसार काम गर्दा प्लटिङमा खुला ठाउँ छाड्नुपर्ने, चौडा सडक बनाउनुपर्ने, पूर्वाधारहरु निर्माण गर्नुपर्ने पर्ने भएकोले प्लटिङ डेभलपरहरुले नियामक निकायबाट स्वीकृति नलिइ मनोमानी ढंगले प्लटिङ गरिरहेका छन् ।

    डेभलपरले धेरै पैसा कमाउने लोभमा छोटो बाटो प्रयोग गरी गरिएको प्लटिङमा जग्गा खरिद गर्दा फसिन सक्नेतर्फ पनि प्राधिकरणले सचेत बनाइरहेको छ ।

    यही क्रममा उपत्यका विकास प्राधिकरणले स्वीकृति नलिइ मापदण्ड विपरित विकास गरिएका जग्गा–घडेरी नकिन्‍न सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारण उपभोक्तालाई सचेत बनाएको छ ।

    यी हुन् उपत्यका विकास प्राधिकरणका सुझावहरु :
    १.फिल्डमा मात्र होइन, नापी नक्शामा सार्वजनिक बाटो कायम रहेको छ, छैन ? नापी र मालपोत कार्यालयमा जेकचाँज गर्नुहोला ।

    २.राजकूलो, खोल्सी ढाकेर, छोपेर, मिचेर बाटो कायम गरिएको त छैन ? यसरी बनाइएका बाटोहरु गैरकानूनी हुन् । यस्ता जग्गामा लगानी गर्दा पछुतो हुन सक्छ ।

    ३. तपाईंले किन्‍न लागेको जग्गा खोलाको किनार भित्रको त होइन ? जग्गा फिल्डमा एकतिर देखाइने, नापी नक्सामा अन्यत्र भएर दुःख पाएका घटनाहरु प्रशस्त छन् । सुरुमै सावधानी अपनाएको खण्डमा पछि दुःख पाउन र ठगिनबाट बचिन्छ ।

    ४.कतै ढिस्को भासेर, पुरुवा माटोले सम्याइएको जग्गा पो किन्दै हुनुहुन्छ कि ? यस्तो जग्गामा घर बनाउँदा धेरै भासिने खतरा हुन्छ ।

    ५.तपाईंलाई सार्वजनिक जग्गा मिचेर फिल्डमा बाटो कायम गरिएको प्लट ठूला देखाइ झुक्काइएको त छैन ?

    ६.तपाईंले खरिद गर्न लागेको जमिनमा भासिने–बग्‍ने डर त छैन ? भूःक्षय, भूःस्खलनका कारण घरजग्गा नै भासिएका दुःखद घटनाहरु प्रशस्त छन् ।

    ७.सडकको चौडाइ सडकको मापदण्ड अनुरुप बाटो विस्तार भित्र पर्छ कि ?

    ८.निर्देशित जग्गा विकास कार्यक्रम जीएलडी अन्तर्गत प्रस्तावित सडक रेखाङ्कन भित्र पर्छ कि ?

    ९.कतै जग्गा उच्च भोल्टेजका विजुलीका तार मुनि त पर्दैन ?

    १०.दलदले र गहिरो खेत पुरेर घडेरी बनाइएको रहेछ भने त्यस्तो ठाउँमा भूकम्पको कम्पन (धक्का) बढी हुन्छ । यस्ता ठाउँमा बनाइने घरहरु माटो परिक्षण गरी विशेष खाले जग हाल्नुपर्ने हुन्छ । बलियो जग नहालेमा आफ्ना परिवार र छिमेकी समेतको जिउ ज्यानको सुरक्षा खतरामा रहने डर हुन्छ । स्वभावतः सावधानी अपनाउनुपर्ने हुन्छ ।

    ११.भूकम्प आगलाजी जस्ता अप्रत्यासित प्राकृतिक प्रकोपको बेला आपतकालीन उद्धारको लागि दोहोरो एम्बुलेन्स, दमकल चल्न अनिवार्य छ । सडकको चौडाई एम्बुलेन्स र दमकललाई दोहोरो आवत जावत गर्न पुग्‍ने भएमा सुरक्षित हुन अपस्ताल दौडाउन सजिलो हुन्छ । लगानी पूर्व भविष्यमा सम्भावित दुर्घटनाको पनि ख्याल गर्नुहोला ।

    १२.प्लटिङका आकर्षक घडेरीहरु भन्‍ने विज्ञापनहरु प्रायः देखिन्छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति लिएर प्लटिङ गरिएको हो भन्‍ने निश्‍चिन्त भएर मात्र घडेरीमा लगानी गर्नुहोला ।

    १३.प्लटिङमा सरकारले तोकेका मापदण्ड पुरा गरिएको छ कि छैन् ? बुझेर मात्र जग्गा खरिद गर्नुहोला ।

    घर बनाउँदै हुनुहुन्छ वा संधियारको घर बन्दैछ ?
    १.तपाईं घर बनाउँदै हुनुहुन्छ भने नक्सा पास गरेर स्वीकृत उचाइ अनुरुप मात्र बनाउनु होला । मापदण्ड मिचेर बनाइएका घर टहरा भत्काइन्छ ।

    २.ख्याल गर्नुहोस् यदि स्वीकृत मापदण्ड मिचेर छिमेकीले घर बनाउन लागेको छ भने त्यसको मार तपाई समेतलाई पर्न सक्छ । भूकम्प वा अन्य कारणले छिमेकीको घर भत्किँदा, आगलागी हुँदा तपाईं पनि जोखिममा पर्न सक्नुहुन्छ । घाम, हावा छेकिएर तपाई पनि अस्वस्थ हुन सक्नुहुन्छ । छिमेकीको पापको भागिदार तपाई पनि हुन सक्नुहुन्छ, ख्याल गर्नुहोला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images