images
images
  • ‘युरेनियम’जस्तो देखिने धातु प्रतिकिलो ३५ करोडमा बिक्री गर्न हुँदै थियो ‘डिल’, पक्राउ पर्नेमा ललितपुरका कांग्रेस नेता महत

    काठमाडौं- प्रहरीले बौद्धको तारागाउँस्थित हायात होटेलको पार्किङबाट युरेनियमजस्तो देखिने धातुसहित आठ अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका कांग्रेस नेता नवराज महत पनि छन् । उनी ०७४ को निर्वाचनमा ललितपुर ३ (क) बाट प्रदेश सांसदको उम्मेदवार थिए ।

    प्रहरीले कांग्रेस नेता महतसँगै भारतीय नागरिकहरू उपेन्द्रकुमार मिश्र र राजु ठाकुर तथा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ का ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका-४ का ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा लक्ष्मीपुर-पतारी गाउँपालिका- ३ का ४० वर्षीय गोपीलाल दास, सिराहाकै बरियापारपट्टी गाउँपालिका– १ का ५५ वर्षीय जीवछनारायण यादव र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ७ शिवचोकका ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरीलाई पक्राउ गरेको छ ।

    खरिदकर्ता र विक्रेताबीच ‘डिल’ भएअनुसार बरामद धातुको मूल्य झन्डै एक अर्ब रुपैयाँ पर्छ । बरामद धातुको परिमाण दुई किलो आठ सय ग्राम रहेको प्रहरीले जनाएको छ । सो धातु प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न दुई पक्षबीच ‘डिल’ हुँदै थियो । त्यही क्रममा प्रहरीले पार्किङमा राखिएको बा।५च ८२०९ नम्बरको कारबाट धातु बरामद गरेको थियो । कालो झोलामा प्याक गरिएको अवस्थामा धातु फेला परेको प्रहरीले जनाएको छ ।

    ‘युरेनियमको खरिद–बिक्री हुँदै गरेको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो । केहीलाई पक्राउ पनि गरिएको छ । सोधपुछका क्रममा कारभित्र युरेनियमजस्तो धातु फेला प¥यो । घटना सम्बन्धमा विस्तृत अनुसन्धान हुँदै छ,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने ।

    प्रहरीका अनुसार बरामद धातु भारतीय नागरिक उपेन्द्रकुमार र राजुले खुला सिमानाको फाइदा उठाउँदै काठमाडौं ल्याएका थिए । उपेन्द्रकुमार बिहारको गयास्थित चनादहोताका बासिन्दा हुन् भने राजु बिहार मोतिहारी एकडारा–६ बगैया कलुवाका हुन् । काठमाडौं ल्याएको धातु उनीहरूले खड्का र महतलाई बुझाएका थिए ।

    खड्का र महतले धातुलाई प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न ‘डिल’ गर्दै थिए । प्रहरीले दुवैलाई आइतबार नै होटेलबाट पक्राउ गरेको थियो । त्यसको २४ घन्टाभित्रै अन्यलाई पनि काठमाडौंबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । महत कांग्रेसको १४औँ महाधिवेशनमा महासमिति सदस्य थिए । त्यसअघि उनी ललितपुर जिल्ला समितिको उपसभापतिमा थिए । स्रोतका अनुसार महत प्रधानमन्त्रीपत्नी आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाणका विश्वासपात्र हुन् ।

    प्रहरीका अनुसार सो धातु महिना दिनअघि नै काठमाडौं ल्याइएको थियो । युरेनियमको कारोबार हुँदै गरेको सूचना प्रहरीको विशेष ब्युरोले केही साताअघि नै पाएको थियो । सोहीअनुसार ब्युरोले विशेष ‘इन्टेलिजेन्स’ परिचालन गरेको थियो । हायत होटेलमा ‘डिल’ भइरहेको सूचना पाएपछि ब्युरोले पक्राउ गर्न काठमाडौं प्रहरीको सहयोग लिएको थियो ।

    प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बरामद धातु युरेनियम भए-नभएको परीक्षण गर्न प्रयोगशालामा पठाइएको बताए । ‘युरेनियमजस्तो देखिने धातु बरामद भएको छ । कुन उद्देश्यले ल्याइएको हो खुल्न सकेको छैन । धातुको परीक्षण गर्न आवश्यक देखियो । त्यसैले प्रयोगशालामा पठाइएका छौँ । नतिजा आएपछि मात्रै बरामद धातु युरेनियम भए–नभएको बताउन सकिन्छ,’ उनले भने ।

    प्रहरीले पक्राउ गरिएकाहरूविरुद्ध ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थप अनुसन्धानका लागि सात दिनको म्याद पाएको छ ।

    यसअघि पनि बौद्धबाटै बरामद भएको थियो साढे दुई किलो युरेनियम
    प्रहरीले यसअघि २७ फागुन ०७७ मा पनि बौद्धबाटै साढे दुई किलो युरोनियमसहित नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपानेलाई पक्राउ गरेको थियो । नेपालमा युरेनियम बरामद भएको त्यो पहिलोपटक थियो । बरामद युरेनियम २० वर्षअघि भारतको खानीबाट नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको थियो । सो युरेनियमको मूल्य एक अर्बभन्दा धेरै पर्ने प्रहरीको भनाइ छ । युरेनियम रेडियोधर्मी धातु हो ।

    जसलाई नांगो आँखाले हेर्न सकिँदैन । विशेषगरी आणविक हतियार निर्माणमा यसको प्रयोग हुँदै आएको छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा ‘लिटिल ब्वाई’ र ‘फ्याट म्यान’ नामको दुईवटा अणुबम तीन दिनको फरकमा खसालेको थियो । त्यसको महिना दिनपछि दोस्रो विश्वयुद्ध सकिएको थियो । सन् १९४५ मा खसालिएको सोही अणुबमको असर जापानी जनताले अहिले पनि बेहोरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images